रुपन्देही ।
प्रदेश ५ मा कोरोना भाइरस (कोभिड-१९) सङ्क्रमणको आशङ्का गरिएका २३ जनाको रिर्पोट ‘नेगेटिभ’ आएको छ ।
सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखाका अनुसार ३६ जनाको ‘स्वाब’ परीक्षण गरिएकोमा २३ जनाको रिपोर्ट नेगेटिभ आएको हो । बाँकी १३ जनाको परीक्षणको रिर्पोट आउन बाँकी रहेको मन्त्रालयले जनाएको छ ।
कोरोना भाइरसको आशङ्का गरिएका ५२ जनामध्ये ३६ जनाको स्वाबको परीक्षण गरिएको हो । कोरोनाको आशङ्का गरिएका २९ जनालाई भने आइसोलेशनमा राखेर उपचार गरिरहेको महाशाखाले जनाएको छ ।
बुटवलको धागो कारखानामा रहेको आइसोलेशन अस्पतालमा आठ जना, बाँकेमा रहेको अर्बुद रोग अस्पतालमा १० जना , दाङको बेलझुण्डीमा दुई जना, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पाँच जना, तौलिहवा अस्पतालमा तीन जना र बर्दियामा एक जनाको आइसोलेशनमा राखेर उपचार भइरहेको छ ।
हवाई सेवा बन्द भएका कारण अस्पतालहरुले स्वाब सङ्कलन गरी एम्बुलेन्समार्फत राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाउनु पर्दा रिर्पोट आउन ढिला हुने गरेको महाशाखा प्रमुख डाक्टर उमाशशङ्कर चौधरीले बताउनुभयो ।
प्रदेश ५ मा कोरोनाको नमुना स्वाब सङ्कलन गर्न १७ जना मात्रै दक्ष स्वास्थ्य प्राविधिकहरु रहेको महाशाखाले बताएको छ ।
यता नेपालगञ्जबाट कोरोना भाइरस (कोभिड–१९)को आशंकामा १० जनाको नमुना परीक्षणका लागि काठमाडौँ पठाइएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत नरेश श्रेष्ठले शनिबार थप १० जनाको नमुना काठमाडौँ पठाइएको जानकारी दिनुभयो। नेपाल एयरलाइन्सको विमानबाट नेपालगञ्ज लगायतका क्षेत्रबाट शंकास्पद व्यक्तिहरुको नमुना संकलन गरी पठाइएको श्रेष्ठले बताउनुभयो ।
औषधि बोकेर नमुना लिन आएको नेपाल एयरलायन्सको विमान नेपालगञ्ज विमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटनामा परेपछि अर्को विमान पठाइएको थियो ।
बाँकेमा अहिलेबाट अहिलेसम्म २३ जनाको नमुना परीक्षणका लागि राष्ट्रिय जनस्वस्थ्य प्रयोगशाला टेकु पाठाइएको छ । ती मध्ये ७ जनाको रिपोर्ट नेगेटिभ आएको छ । अरुको रिपोर्ट आउन बाँकी छ ।
शनिबार पठाइएको नुमनामा पाँच जना कतार, दुई जना मलेसिया, एक जना दुबई र दुई जना भारतबाट आएकाहरुको नमुना रहेको छ ।
१६ चैत्र २०७६ आइतबार ००:००
0
Shares
प्रतिक्रिया