८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

कोरोना त्रासः बाणगंगाका डाक्टरहरु विरामी छुन मान्दैनन, लक्षण सोधेर ‘दबाई’ दिन्छन्



कपिलवस्तु, (रिर्पोटर डायरी) ।
कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं. ४ का ७५ बर्षीय खिमानन्द शर्मा सामान्य विमारी हुनुभयो । सामान्य खोकी लागेपछि उहाँलाई अस्पताल नगई भएन । अरु बेला विमारी भएका बेला सित्तिमिति अस्पताल नजाने उहाँ शुक्रबार भने खोकी लाग्ने वित्तिकै पिपरा अस्पत्तालमा जानु भयो ।
विश्वमा कोरोना भाइरसको महामारीले भयानक रुप लिँदै गएको खबर रेडियो र टिभीमा सुनेपछि उहाँलाई डर लागेको रहेछ । उहाँले भन्नुभयो–“अहिलेसम्म मलाई औषधी खाएको अनुभव छैन । सामान्य रुघाखोकी, ज्वरो, टाउको दुखेमा घरमै सन्चो हुने गर्दथ्यो । गाउँघरकै टोप्रे झार, तुलसी, ज्वानो, बेसार, नुन पानीको सेवनले सामान्य रोगहरु सन्चो हुन्थे । तर अहिले त के भएको कुन्नी डर लाग्यो । अस्पताल नगई मनले मानेन ।”
काम बाहेक घरबाट बाहिर निस्कने बानी नभएका उहाँ चैत्र १४ गते शुक्रबार दिउँसो करिब ३ बजेतिर पिपरा अस्पताल निस्कनु भयो । बजारको सुनसान बातावरण देखेर उहाँ साह्रै अचम्ममा पर्नुभयो । उहाँले भन्नुभयो, ‘यो कस्तो रोग रहेछ ? सबैले कोरोना कोरोना मात्र भन्छन् । घरमा पनि छोराछोरीले साबुन पानीले हात धुनुस् मात्र भन्छन् । यो के भएको हो ? यस्तै गुनासो पोख्दै उहाँ पिपरा अस्पताल पुग्नु भयो ।’
अरुबेला भीँडभाड हुने पिपरा अस्पतालमा त्यो दिन त्यति धेरै चहल पहल थिएन । उहाँ खुरुखुरी अस्पताल गेटबाट भित्र छिर्दै हुनुहुन्थ्यो । उताबाट आवाज आयो । ए बा ! ए बा ! हात धुनुभयो ? उहाँ अक्क न बक्क हुनुभयो । त्यसपछि अस्पतालका एक जना कर्मचारी दौडँदै आएर उहाँलाई अगाडी हात धुने ठाउँ देखाउदै भन्नुभयो– ‘बा ! कोरोना आको छ । यसबाट बच्न साबुन पानीले मिचिमिचि हात धुनु पर्छ । ल पैला यहाँ हात धुनुस्, अनि बल्ल अरु काम गर्ने ।’ उहाँले हात धुनुभयो । त्यसपछि जाँच गर्ने स्थानमा जानु भयो । सबैले मुख हरियो र सेता टालोले ढाकेका । हातमा सेतो पञ्जा लाएका । सबै टाढाटाढा बसेका । अस्पताल आएका विमारीहरु पछि छुट्टा–छुट्टै बसेको देखेर उहाँले अन्य समयमा भन्दा निकै भिन्न अनुभव गर्नुभयो । त्यसै क्रममा अस्पतालका एक जना आएर भने बा ! ल यो सेनेटाइजर हातमा लगाउनु ।
विचरा ती वृद्ध विमारीलाई के थाहा किन सेनेटाइजर दिइयो ? डाक्टरले भनेपछि उहाँले हातमा लगाउनु भयो । अनि थच्च एक स्टुलमा बस्नुभयो । यो दृश्य देखेर उहाँ जिल्ल मात्र पर्नु भएन, अलिअलि आत्तिनु पनि भयो । उहाँलाई लिएर म अस्पताल गएको थिएँ । म पनि विचरा ती विमारी र डाक्टरको अवस्था देखेर भएभित भएँ । डाक्टरहरु सामान्य विमारी आउने वित्तिकै पल्याक पुल्युक गरे । त्यहाँ विमारी जाँच्न पहिला जस्तो सहज थिए । एकातिर डाक्टर । अर्कातिर विमारी । डाक्टर र विमारीको दुरी करिब तिन चार मिटर टाढा । डाक्टर र विमारीको बीचमा प्लास्टिकको बार । अवस्था साँच्चिकै गम्भिर ।
त्यसपछि डाक्टरले टाढैबाट भन्नुभयो, ‘बा ! म तपाईलाई जाँच नगरिकन औषधि दिन्छु । खानुस् । नआत्तिनुहोस् । सन्चो हुन्छ है ! अनि डाक्टरले लक्षण सोधेर औषधि दिनुभयो । उहाँ फर्कनु भयो । उहाँले तुरुन्तै प्रतिक्रिया दिनुभयो,–“यस्तो हो भने म जस्ता विमारी अब बाँच्न मुस्किल छ । सामान्य रोग लागे पनि बाँचिन्छ भन्ने लाग्न छोड्यो ।”
शर्मा मात्रै होइन अस्पताल जाँच गराउन गएका अधिकांश विरामीले अहिले यही नियत भोगिरहेका छन् । बाणगंगा नगरपालिकाका अधिकांश नीजि, सामुदायिक तथा सरकारी अस्पतालको हालत यस्तै छ । केही अस्पताल बाहेक सबै अस्पतालमा डाक्टरहरुले बिमारी जाँच्न डर मान्ने गर्दछन् ।
यस विषयमा मायादेवी अनलाइनले बुझ्दा पर्याप्त श्रोत र साधनको अभावमा चिकित्सक पनि विमारीसंग डराएका छन् । विश्व संकटमा परेका बेला विरामीहरु अताल्लिएका छन् । सामान्य विमार हुँदा पनि विमारीमा के भयो ? कसो भयो ? भन्ने चिन्ता छ । नाम नभन्ने सर्तमा पिपराका एक जना स्वास्थयकर्मीले भने,–“यस्तो अवस्थामा अस्पत्तालमा नगइ भएन । नजाउँ भने ती विचरा विमारीको के हालत होला ?”
अस्पतालमा नगन्य मात्रामा सर्जिकल मास्क, ग्लोब्स बाहेक कोरोनाको जोखिमबाट बच्ने श्रोत साधन छैन । विमारी जाँच्ने डाक्टरले लगाउने पिपिई छैन । सेनटाइजर पनि पर्याप्त छैन । यस्तो अवस्थामा विमारीसंगको सम्पर्कबाट टाढा रहने गरी विमारीलाई राहत दिएका छौँ । त्यो भन्दा अरु केही गर्न सम्भव छ । लक्षणको भरमा औषधी दिनुको विकल्पै छैन । उनले थपे, ‘घरमा परिवारले गाली गर्छन् । झण्डै यत्ति भए पनि गर्न सकेका छौँ । कमसेकम आफ्नो ज्यानको सुरक्षा त गर्नु पर्यो । फेरि कोरोना निकै डरलाग्दो रोगको रुपमा देखिएको छ ।’
एक जना चिकित्सकले त पछिल्लो समय कोरोना आँखाबाट पनि सर्छ भनेर झन् त्रास सिर्जना भएको बताए । बाणगंगाको कपिलवस्तु सामुदायिक अस्पतालमा बुझ्दा पनि त्यही समस्या छ । पर्याप्त श्रोत साधन नभए पछि विमारीलाई चाहेर पनि भनेजस्तो सेवा दिन सकिएको छैन ।
स्थानीय सरकारले कोरोनाको सम्भावित जोखिम कम गर्न अस्पतालमा श्रोत साधन अभाव हुन नदिने बताए पनि केही गर्न नसकेको स्वयम् अस्पतालका कर्मचारी बताउँछन् । पिपरा अस्पतालमा बाणगंगा नगरपालिकाले २ बेडको आइसोलेसन वार्ड बनाएको छ । तर त्यसमा हरियो तन्ना लगाउने बाहेक अरु केही गरिएको छैन । अस्पतालकी प्रमुख रंजिता महतोले कोही कोरोनाको शंकामा अस्पतालको आइसोलेसनमा आए भने ढुक्कसंग राख्ने अवस्था नभएको बताउनु भयो । राखे पनि विरामीलाई नै जोखिम छ । उहाँले भन्नुभयो–‘तुरुन्त स्थानीय सरकारले कोरोनाको सेफ्टीका लागि कम्तिमा पनि पिपिइ, भाइरस प्रोटेक्टेड मास्क, पर्याप्त सेनेटाइजर उपलब्ध गराउनु पर्दछ ।’
यो विषयमा नगरपालिकाको स्वास्थ्य शाखामा बुझ्दा श्रोत साधन अभाव भएको पाइयो । स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेलले पिपरा अस्पताल र कपिलवस्तु सामुदायिक अस्पतालमा छिट्टै आवश्यक श्रोत साधन उपलब्ध गराउने बताउनु भयो । यसको लागि नगरपालिकाले पहल थालेको र बुटवल गएर एक दुई दिनमा आवश्यक सामग्री ल्याउने बताउनु भयो ।
यता नगरका सरोकारवाला भने यो विपत्मा नगरपालिकाले केही गर्न नसकेको भन्दै गुनासो गरेका छन् । हुन पनि नगरले यो ‘लक डाउन’को बीचमा केही गरेको छैन । कर्मचारी र जनप्रतिनिधि स्वयम् डरले सितिमित बाहिर निस्कन मान्दैनन् ।

प्रकाशित मिति : १५ चैत्र २०७६ शनिबार ००:००  ७ : ५८ बजे