८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

कोरोनाले लियो एकै दिन ३ हजार २७० को ज्यान, भयावह बन्दै अमेरिकाको अवस्था



काठमाडौं ।
विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट मृत्यु हुनेको संख्या विश्वमा २७ हजार नाघेको छ ।

गएको २४ घन्टामा मात्रै यसको संक्रमणबाट विश्वभर ३२ सय ६८ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । यो एकैदिन मृत्यु भएको अहिलेसम्मकै सबैभन्दा ठूलो संख्या हो ।

यो सँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या विश्वभर २७ हजार ३ सय ४३ पुगेको छ । यो तथ्यांक शनिबार बिहान पौने सात बजेसम्मको हो ।

कोरोना भाइसका कारण विश्वभर हालसम्म ५ लाख ९६ हजार २१ जना संक्रमित फेला परेका छन् । शुक्रबार एकै दिन विश्वमा ६४ हजार नयाँ संक्रमित देखिएका छन् ।

संक्रमित मध्ये १ लाख ३३ हजार ५७ जना उपचारपछि पूर्ण रुपमा निको भएका छन् ।

गएको २४ घन्टामा सबैभन्दा बढी इटालीमा ९ सय १९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । त्यहाँ हिजो एकै दिन ६ हजार नयाँ संक्रमित थपिएका छन् ।

इटालीपछि शुक्रबार स्पेनमा धेरैले ज्यान गुमाएका छन् ।

यसको संक्रमणबाट त्यहाँ गएको २४ घन्टामा सात सय ७३ जनाले ज्यान गुमाएका छन् । अहिलेसम्म त्यहाँ यसको संक्रमणबाट पाँच हजार एक सय ३८ जनाको मृत्यु भइसकेको छ ।

अमेरिकाका शुक्रबार एकैदिन ३ सय ९८ जनाको मृत्यु भएको छ । यो सँगै त्यहाँ कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १६ सय ९३ पुगेको छ ।

यसको संक्रमित अमेरिकामा सबैभन्दा बढी छन् । कोरोना संक्रमणले त्यहाँको अवस्था भयावह बन्दै गएको छ । त्यहाँ अहिलेसम्म एक लाख ३७ हजार ९८ जना संक्रमित भएको पत्ता लागेको छ । यो चीनको भन्दा धेरै हो ।

चीनमा अहिलेसम्म ८१ हजार तीन सय ९४ मात्रै संक्रमित भएका छन् ।

प्रकाशित मिति : १५ चैत्र २०७६ शनिबार ००:००  ७ : ५४ बजे