८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

कपिलवस्तुका केन्द्रिय सांसदको हालचालः ‘खनाल घरमा, गुप्ताको मोबाइल अफ, शाह मैदानमै’!



मायादेवी अनलाइन, चारनम्बर ।
अहिले विश्वलाई नोबेल कोरोना भाइरस (कोभिड १९)ले आक्रान्त बनाएको छ । यसको संक्रमण नेपालमा पनि भित्रिएको छ । कोरोना भाइरसको संक्रमण तीव्र नहोस भन्नका लागि सरकारले मंगलबारदेखि मुलुक ‘लकडाउन’ गरेको छ । यसको प्रभावमा कपिलवस्तु पनि छ । अझ कपिलवस्तुमा ‘लकडाउन’ प्रभावकारी नदेखिए पछि जिल्ला प्रशासन कार्यालयले ‘कर्फ्यू’ लगाएको छ ।
भारतीय सिमावर्ती कपिलवस्तुमा कोरोना भाइरसको त्रास निकै छ । यो बेला स्थानीय सरकारका जनप्रतिनिधि सबै जनताको सेवामा खटिरहेका छन । स्थानीय स्तरमा क्वारेनटाइन निर्माण देखि क्वारेनटाइनमा राखिएका व्यक्तिको खानपिन, स्वास्थ्य, सरसफाई जस्ता कार्यमा उनीहरुको खटाई लोभलाग्दो छ ।
तर, केन्द्र सरकार मातहतमा रहेका जिल्लाका तीन प्रतिनिधिसभाका सांसद आजभोलि के गर्दैछन् ? जिल्लामा तीन प्रतिनिधि सभा निर्वाचन क्षेत्र छ । मायादेवी अनलाइनले यी सांसदलाई सम्पर्क गरी अहिलेको हालखबर बुज्ने प्रयास गरेको छ ।

चक्रपाणी खनाल ‘बलदेव’–क्षेत्र नं. १
निवर्तमान मन्त्री समेत रहनुभएका निर्वाचन क्षेत्र नं. १ का सांसद चक्रपाणी खनाल ‘बलदेव’ अहिले घरकै क्वारेनटाइनमा हुनुहुन्छ । दोस्रो पटकमा फोन उठाउनुभएका सांसद खनालले यो बेला सरकारले दिएका निर्देशन पालन गरी घरमै बस्नुको विकल्प नभएको बताउनुभयो । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य समेत रहनुभएका सांसद खनालले कोरोना भाइरससंग लड्नका लागि कत्ति पनि लापरबाही नगरी घरमै सुरक्षित तरीकाले बस्नुपर्ने बताउँनुहुन्छ । ‘यो भाइरसले विश्वमा महामारीको रुप लिएको छ । अहिले सरकारले भनेका कुरा पूर्ण रुपमा पालना गर्नुको अर्को विकल्प छैन । सबै आ–आफ्नो ठाउँमा बसेर सुरक्षित हुनुपर्छ उहाँले भन्नुभयो’,–“यो बेला आत्मनुशासन नै उत्तम कुरा हो ।”
चैत्र ७ गते सदन बस्ने कुरा थाहा पाए लगत्तै आफु जिल्लाबाट काठमाण्डौं गएको र ९ गते बुटवल आफ्नो डेरामा फर्किएको उहाँले जानकारी दिनुभयो । त्यस यता आफु घरका परिवारसंग बसिरहेको उहाँले सुनाउनुभयो । कोरोना भाइरसबारे लड्नका लागि सरकारले गरेको ‘लकडाउन’लाई पूर्ण रुपमा पालन गर्न उहाँले सबैमा आग्रह गर्नुभएको छ । सांसद खनाल अहिले बुटवलस्थित आफ्नै डेरामा हुनुहुन्छ ।

बृजेश कुमार गुप्ता–क्षेत्र नं. २
पहिलो घण्टीमा फोन काट्नुभएका प्रतिनिधिसभा–२ का सांसद बृजेश कुमार गुप्तालाई ५ मिनेटको अवधिमा लगातार दुई पटक फोन हान्दा पनि उहाँले पटक–पटक काट्नुभयो । विडम्वना उहाँको फोन उठ्न सकेन । पछिसम्म ‘कल व्याक’ हुने आशा गरिएपनि उहाँले फोन नगरेपछि साँझ ५ बजे फेरी चौथो पटक फोन हानिए पनि अन्ततः उहाँको मोबाइल अफ थियो । तौलिहवा घर भएका सांसद गुप्ता काठमाडौं हुनुहुन्छ कि घरमै पत्ता लाग्न सकेन । यो बेला उहाँले के गर्दै हुनुहुन्छ थाहा हुन सकेन् । यद्यपि सांसद गुप्ताका नजिकका पात्र समेत रहनुभएका कपिलवस्तु नगरपालिका वडा नं. १ का वडाध्यक्ष सुदीप पौडेलले उहाँ (गुप्ता) घरमै रहनुभएको बताउँनुभयो । दिउँसो ३ बजे उहाँसंग कोरोना संक्रमणबाट नागरिकलाई कसरी बचाउने भन्ने विषयमा कुराकानी भएको वडाध्यक्ष पौडेलले बताउनुभयो ।

अभिषेक प्रताप शाह –क्षेत्र नं. ३
प्रतिनिधिसभा क्षेत्र नं. ३ का सांसद अभिषेक प्रताप शाहलाई दिउँसो सँवा २ बजे हाल खबर बुज्न फोन गरिए पनि त्यतिबेला उहाँको फोन उठ्न सकेन । त्यति बेला फोन नउठाए पनि उहाँले अपराह्न साँढे ४ बजे ‘कल ब्याक’ गरेर आफ्नो जिम्मेवारीको धर्म निभाउनुभएको छ । जनप्रतिनिधि जनताद्धारा निर्वाचित भएकाले हरेक फोनको महत्व उत्तिकै हुन्छ । त्यो कुराको राम्रो हेक्का सांसद शाहमा रहेको पाइयो । यो बेला उहाँले गर्नुभएको फोन रेस्पोन्स उदाहरणीय बन्न सक्छ ।
कोरोना भाइरसको संक्रमण फैलन नदिनका लागि सरकारले गरेको ‘लकडाउन’को पूर्ण समर्थन गर्दै आफु जनताको सुख दुखमा रहेको उहाँले सुनाउनुभयो । नेपाली कांग्रेसका केन्द्रिय सदस्य समेत रहनुभएका नेता शाहले सरकारले गरेको ‘लकडाउन’लाई पूर्ण रुपमा पालना गर्न आग्रह गर्नुभएको छ । भारतीय सिमा नाका कृष्णनगरमा बसोबास गर्दै आउनुभएका सांसद शाहले सिमा नाकामा देखिएका समस्या समाधानमा आफ्नो सक्रियता रहेको बताउनुभयो । भारतबाट नेपाल आउने नेपाली सिमा नाकामा अलपत्र पर्ने गरेको बेला आफ्नो सक्रियताले उद्धारको काम भएको उहाँले सुनाउनुभयो । भारतमा कोरोनाको संक्रमण फैलिरहेको बेला नेपालमा यसको जोखिम उच्च रहेकाले यस क्षेत्रका नागरिकलाई सचेतना जगाउने काम पनि महत्वपूर्ण छ, म यही अभियानमा छु उहाँले भन्नुभयो ।
‘म अधिकांश समय मैदान मै छु, उहाँले अगाडी भन्नुभयो’,–“अरु समय घरमै क्वारेनटाइन बनाएर बस्दै आएको छु ।”
साथै उहाँले दिल्लीमा झण्डै डेढ सय नेपाली अलपत्र परेको आफुले सुनेको भन्दै केन्द्र सरकारले नेपाल उद्धारको वातावरण मिलाउन आग्रह गर्नुभयो । ‘नेपाल–भारत दुवै देश ‘लकडाउन’को अवस्थामा छन । यो समयमा नेपाल आउँदै गरेका डेढ सय नेपाली यात्रु अलपत्र परेको खबर मैले सुनेको छु, उहाँले चिन्ता व्यक्त गर्दै भन्नुभयो’,–“नेपाल सरकारले अविलम्व उद्धारको काम थालोस ।”

प्रकाशित मिति : १४ चैत्र २०७६ शुक्रबार ००:००  ६ : ०३ बजे