८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

कोरोना त्रासः कपिलवस्तुका मुस्लिम समुदायले घरमै पढे बिशेष नमाज



मायादेवी अनलाइन, तौलिहवा ।
कोरोना भाइरसको त्रास बढेपछि सरकाले लकडाउन गरेको बेला मुस्लिम समुदायको दोश्रो बढी बसोबास रहेको कपिलवस्तुका मुस्लिम समुदायले शुक्रबार जुमाको दिन मस्जिदमा नपढी घरमै नमाज अदा गरेका छन् । भीडभाडमा कोरोना फैलन सक्ने जोखिम रहेको र सरकारले समेत लकडाउन गरेकाले घरमै बसेर जमुको बिशेष नमाज पढेका हुन् ।
तौलिहवाका मुस्लिम अगुवा रउफ अहमद खाँले जुमाका दिन मुस्लिम समुदायले अनिवार्य रुपमा मस्जिदमा गएर नमाज पढ्नु पर्ने भए पनि वर्तमान परिस्थितीले गर्दा घरमै पढ्ने आफूहरुले निर्णय गरेको बताए । यस विषयमा आफूहरुले मुस्लिम धर्म गुरु मौलानाहरुसंग समेत छलपल गरेको उनले बताए । ‘शुक्रबार मस्जिदमा नमाज पढ्ने हाम्रो धर्म हो तर अहिले विश्व नै कोरोनाको त्रासमा छ मानवता नै धर्म हो त्यसैले हामीले घर मै नमाज पढेका हौ’ उनले भने ।
उता कृष्णनगरका मुस्लि अगुवा महसुद नेपालीले अहिलेको परिस्थिती र सरकारले गरको निर्णयको कार्यान्वयन गर्दै मस्जिदमा सामूहिक पाठन नगरिएको बताए । उनले नेपाल सरकारले दिएको निर्देशनलाई मुस्लिम समुदायले समेत अपनाई कोरोना भाइरसको रोकथाम गर्न र सचेतना अपनाइएको बताए । उनले मुस्लिम समुदाय मस्जिदमा जान दिएको तर नमाज पढ्नको लागि चार जना मात्र सहभागी भएको बताए ।

कपिलवस्तुमा २ सय बढी मस्जिद छन् । हरेक मस्जिदमा ५ सयदेखि ३ हजारसम्म शुक्रबारको दिन नमाज पढ्ने गरिन्छ । यसै विषयमा बिहीबार कृष्णनगर चन्द्रौटाका मुस्लिम अगुवाहरुले विज्ञप्ती निकाल्दै बढी भिडभाड नगर्ने र शुक्रबारको नमाज आ–आफ्नो घरमा पढ्न मुस्लिम समुदायमा आग्रह गरेका थिए । उनीहरुले कोरोना भाइरसको त्रासबाट चाडँै मुक्ति दिलाउन अल्लाहसंग प्रार्थना गरेको जनाएका छन् ।

प्रकाशित मिति : १४ चैत्र २०७६ शुक्रबार ००:००  ४ : ५२ बजे