८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

प्यूठानमा भारतबाट फर्केका २६ जनालाई क्वारेनटाइनमा राखियो



सलिम अन्सारी, प्यूठान ।
जिल्लामा छिमेकी मुलुक भारतबाट घर फर्केका २६ जनालाई क्वारेनटाइनमा राखिएको छ । कोरोना भाइरसको निगरानी गर्न उनीहरुलाई बिहिबार राति देखि क्वारेनटाइनमा राखिएको हो । बिहिबारसम्म प्युठान भित्रीएका १ हजार ९ सय ९१ जना नागरिकहरुको स्वास्थ्य परिक्षण गरिएको छ । २ सय २६ जना भारतबाट मात्रै आएका थिए ।
त्यस मध्ये जम्मा २६ जनालाई क्वारेनटाइनमा राखिएको हो । क्वारेन्टाईन पठाउनु अघि प्यूठान भित्रने मुख्य नाका सरुमारानी २ ददेरीमा स्थापना गरिएको हेल्थ डेस्कमा उनीहरुको स्वास्थ्य जाँच गरिएको थियो । जिल्ला प्रहरी कार्यालय प्युठानका अनुसार स्वर्गद्वारी नगरपालिका वडा नं. ६ स्थित झोला प्राथमिक बिद्यालयमा ११ जना र ऐरावती गाउँपालिका ३ बरौलास्थित क्वारेनटाइनमा १५ जना गरी २६ जनालाई राखिएको छ ।
क्वारेनटाइनमा राखिएका उनीहरु मध्ये धेरैजसो कृष्णनगर नाका प्रयोग गर्दै प्युठान भित्रिएका थिए । क्वारेनटाइनमा राखिएकाहरुको स्वास्थ्यमा अहिलेसम्म कुनै किसिमको समस्या भने देखिएको छैन । उनीहरूलाई १४ दिनसम्म क्वारेनटाइनमा राखिने बताइएको छ ।
प्यूठानमा सबै स्थानीय तहहरुले क्वारेनटाइन स्थल तयार गरेका छन् । हालसम्म जिल्लामा झण्डै एक सय ८ सैया क्षमताको क्वारेनटाइन तयारी अबस्थामा छन । स्थानीय तह मार्फत भारत सहित तेस्रो मुलुकबाट आएकाहरुको तथ्याकं संकलनको काम समेत भइरहेको छ ।
जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी प्रमुख नरेन्द्रकुमार कार्कीले स्थानीय तह मार्फत् भारतसहित तेस्रो मुलुकबाट आएकाहरुको तथ्यांक संकलनको काम भइरहेको बताउनुभयो ।
लकडाउनको समयमा घरबाट बाहिर ननिस्कन प्रहरीले आहृान गदै जिल्लाका ९ वटै स्थानीय तहमा माइकिङ थालेको छ । अटेर गरेर सवारी साधन चलाइ आवतजावत गर्नेहरुलाई प्रहरीले कारबाही गरेको छ ।
प्रहरीले बिहीबार १ जिप, २ ट्याक्टर, ५ मोटरसाइकल गरी ७ सवारी साधनलाई नियन्त्रणमा लिएको थियो । ६ जना जनालाई पक्राउ गरेर सम्झाई बुझाई छाडेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १४ चैत्र २०७६ शुक्रबार ००:००  ४ : २५ बजे