बर्दिया ।
कोरोना भाइरस (कोभिड–१९) को महामारी फैलिन नदिन बर्दियाका पालिकाहरुले भारत लगायत बाह्य देशबाट घर फर्केकाहरुको लगत संकलन गर्न सुरु गरेको छ ।
नेपालमा ’लकडाउन’ नहुँदै र ’लकडाउन’कै बेला अन्य देशबाट घर फर्केका व्यक्तिहरुको खोजी सुरु गर्न ठाकुरबाबा नगरपालिका र बारबर्दिया नगरपालिकाले तदारुकता देखाएका हुन् ।
बिहीबारबाट सुरु गरिएको अभियानमा ठाकुरबाबा नगरपालिकाले एक जना स्वास्थ्यकर्मी, जनप्रतिनिधि र सुरक्षाकर्मी गरी प्रत्येक वडामा ४ जनाको टोली खटाएको स्वास्थ्य शाखाका इन्द्रराज राजबंशीले जानकारी दिनुभयो ।
टोलीले बाहिरबाट आएका व्यक्तिको पहिचान गरी घरमै पुगेर स्वास्थ्य जाँच गर्ने, परामर्श दिने र घरमा सुरक्षित भएर बस्न आग्रह गर्ने गरेको छ । स्वास्थ्य जाँचका क्रममा कोरोनाको कुनै पनि लक्षण देखिए तुरुन्त क्वरेन्टीनमा लगेर राखिने स्वास्थ्यकर्मी विष्णुप्रसाद ज्ञवालीले बताउनुभयो । स्वास्थ्य जाँच तथा परामर्श टोली ठाकुरबाबा नगरपालिकाका ९ वटै वडामा परिचालन गरिएको ठाकुरबाबा नगरपालिकाका नगरप्रमुख घननारायण श्रेष्ठले जानकारी दिनुभयो । टोलीले २ देखि ४ दिनभित्रै काम सक्ने नगरपालिकाले जनाएको छ ।
१४ चैत्र २०७६ शुक्रबार ००:००
0
Shares
प्रतिक्रिया