काठमाण्डौँ ।
‘लकडाउन’को चौथो दिन शुक्रबार पनि देशभर सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, कुटनीतिक नियोग, एम्बुलेन्स, अत्यावश्यक र जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएका गाडीमात्र चलिरहेका छन् । अरु गाडी भने चलाउन रोक लगाइएको छ ।
गएको मङ्गलबारदेखि आउँदो मङ्गलबारसम्म देशभर लकडाउनको घोषणा गरेकाले अति आवश्यक नपरि घरबाहिर ननिस्कन पनि सरकारले आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालयको अनुमति बिना चलेका गाडीलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएर बेलुकीमात्रै छोड्ने गरेको छ । यस्तै कानुन अनुसार एक हजार रुपैयाँसम्म जरिबाना पनि तिराउने गरिएको प्रहरीले जनाएको छ । बिहीबार लकडाउन उल्लङ्घन गर्ने दुई सय २५ वटा मोटरसाइकल र २८ वटा चार पाङग्रे गाडीसहित दुई सय ५३ वटा गाडी नियन्त्रणमा लिइएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
कोरोना सङ्क्रमण रोकथामको लागि लकडाउन गरिएकाले पालना गर्न पनि प्रहरीले अनुरोध गरेको छ । कोरोना भाइरस (कोभिड १९) एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै सर्ने भएकाले सिङ्गो घरपरिवार र आफन्तको लागि लकडाउन पालना गर्न सरकारले आग्रह गर्दै आएको छ ।
सरकारले जारी गरेको लक डाउनलाई नागरिकले पालना गरे खतरा नरहेको विज्ञहरु बताउँछन् । नेपालमा संक्रमितको संख्या धेरै नभएको र संक्रमितहरु पनि निको भइरहेको भन्दै लकडाउनमा अझै केहि दिन संयम रहे कोरोनाबाट बच्न सकिने विज्ञहरु बताउँछन् ।
यता कपिलवस्तुमा लागेको कफ्युका कारण चौथो दिन बातावरण सुनसान छ । लक डाउन अटेरी गरेपछि लागेको कर्फ्यूपछि भने कोही पनि बाहिर निस्केका छैनन् । अटेरी गर्नेलाई प्रहरीले कडा कारबाही गरेपछि छिटपुटरुपमा बाहिर निस्के पनि घरमै बसेका छन् । यो अवधिभर संयम रहन प्रहरीले अनुरोध समेत गरेको छ ।
प्रतिक्रिया