८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

स्पेनमा कार्यरत चार नेपालीमा कोरोना संक्रमणको पुष्टि



बार्सिलोना ।
स्पेनमा चार जना नेपालीलाई कोरोना संक्रमण पुष्टि भएको छ । क्याटालोनिया क्षेत्रमा बसोबास गर्दै आएका उनीहरुको छुट्टाछुट्टै अस्पतालमा उपचार भइरहेको छ ।

बार्सिलोनाको साग्रादा फ्यामिलिया बस्दै आएका एक जना नेपालीको भने सान्पाओ अस्पतालमा उपचार भइरहेको छ । अन्य ३ जना भने हस्पितालेद क्षेत्रका हुन् । उनीहरु त्यहाँस्थित अस्पतालमा भर्ना भएका छन् ।

संक्रमित ब्यक्तिहरुको विवरण भने गोप्प राखिएको छ । स्रोतका अनुसार चारै जना संक्रमितहरु पुरुष हुन् । तीन जनाको अवस्था सामान्य रहे पनि एक जनाको आईसीयूमा राखेर उपचार भइरहेको छ ।

स्पेनका लागि नेपाली राजदूत दावाफुटी शेर्पाले नेपालीहरु संक्रमित भएको सूचना दूतावासलाई प्राप्त भएको बताइन् । राजदूत शेर्पाले भनिन्, ‘बार्सिलोनामा बस्दै आएका केही नेपालीहरुलाई कोभिड–१९ संक्रमण भेटिएको सूचना आएको छ । तर संक्रमितहरुको सम्पूर्ण डिटेल दूतावासबाट खोज्ने प्रयास भइरहेको छ ।’

उनले संक्रमित ब्यक्तिहरु र परिवारलाई दूतावासको सम्पर्कमा आउन अनुरोध समेत गरिन् । उपाचार लगायत भइपरी आउने प्रक्रियामा दूतावासबाट पूर्ण सहयोग रहने राजदूत शेर्पाले बताइन् ।

प्रकाशित मिति : १४ चैत्र २०७६ शुक्रबार ००:००  ८ : २५ बजे