८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

प्यूठानका सबै स्थानीय तहमा तयार भए क्वारेन्टाइन



सलिम अन्सारी, प्यूठान ।
कोरोना भाईरस (कोभिड–१९) को जोखिम बढ्दै गएपछि जिल्लामा उच्च सतर्कता अपनाउन थालिएको छ । कोरोनाको सङ्क्रमणबाट जोगिन जिल्लाका स्थानीय तह पूर्व तयारीमा लागेका हुन् । जिल्लाका नौ वटै स्थानीय तहले कोरोना विशेष अस्थायी अस्पतालदेखि गाउँघरमा सचेतना जगाउनेसम्मको काममा सक्रियता देखाएका छन् । उनीहरुले स्थानिय स्तरमै शंकास्पद बिरामीको उपचारका लागि क्वारेन्टाइन कक्ष समेत तयारी अबस्थामा राखेका छन् ।
जस अनुसार, प्यूठान नगरपालिकामा २२ र स्वर्गद्वारी नगरपालिकामा १६ शैय्याको क्वारेन्टाईन स्थापना गरिएको छ । त्यस्तै, झिमरुक ११, गौमुखी ५, सरुमारानी १२, नौबहिनी गाउँपालिकामा ५ शैय्या क्षमताको क्वारेन्टाईन कक्ष तयार गरिएको छ । ऐरावती, माण्डबी र मल्लरानी गाउँपालिकाले भने १०÷१० शैय्या क्षमताको क्वारेन्टाइन कक्ष तयार गरे छन् ।
तेस्रो मुलुक वा भारतबाट घर फर्किएकालाई १४ दिनसम्म यिनै क्वारेन्टाईनमा राखिने छ । त्यस्का लागि नेपाल बाहिरबाट गाउं भित्रनेको तथ्यांक संकलन गर्न लागिएको छ । कोरोनाको शंकास्पद विरामीलाई तत्कालै स्थानीय स्तरमा नै राखेर उपचार गर्न सजिलो होस भनेर सो कक्ष स्थापना गरिएको जिल्लाका स्थानीय सरकार प्रमुखहरुले बताएका छन् । क्वारेन्टाईनमा भर्ना हुने बिरामीको सम्पूर्ण उपचार खर्च भने सम्बन्धित गाउँपालिकाले बेहोर्नेछन । प्यूठान भित्रने मुख्य नाका सरुमारानी गाउँपालिका वडा नंवर २ ददेरीमा सोमबार देखि हेल्थडेक्स सञ्चालनमा ल्याइएको छ ।
दुई दिनको अबधिमा यहाँ १ हजार ६७२ जनाको स्वास्थ्य परिक्षण गरिएको स्वास्थ्य कार्यालय प्युठानले बताएको छ । त्यस मध्ये २ सय १० जना भारत लगायतका देशबाट जिल्ला भित्रीएको स्वास्थ्य कार्यालय प्रमुख बिशाल सुबेदीले बताउनुभयो । यस अघि भारत बसेर घर आएका दुई जना प्युठानीको प्रयोगशालामा कोरोना परिक्षण पछि रिपोर्ट नेगेटिभ देखिएको उहाले बताउनु भयो । फ्रान्सबाट आएर नेपालमा संक्रमण पुष्टि भएकी युवतीसंगै आएका प्युठानका एक युवकलाई क्वारेनटाइनमा राखिएको छ ।
ती युवकको अवस्था अहिले सामान्य रहेको सुबेदीले जानकारी दिनुभयो । नेपालमा कोरोना स्थानीय रुपमा संक्रमण नभई देश बाहिरबाट आयातित भएकाले यसबाट तर्सिने भन्दापनि सजग रहनुपर्ने स्थिति रहेको सुबेदिको भनाई छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौमा कोरोना परिक्षण भएका ६८७ जना मध्य हाल सम्म नेपालमा ३ जनामा कोरोनाको संक्रमण देखिएको छ । सक्रमित मध्ये एक जना निको भैसकेको र दुईजना संक्रमित उपचारकै क्रममा छन ।यद्धपी हालसम्म प्युठानमा यो रोगको संक्रमित ब्याक्ती भेटिएका छैनन् ।

प्रकाशित मिति : १३ चैत्र २०७६ बिहिबार ००:००  ६ : २१ बजे