८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

‘कर्फ्यू’को तेस्रो दिनः सुनसान कपिलवस्तु, ठाउँ ठाउँमा तैनाथ सुरक्षाकर्मी



मायादेवी अनलाइन, चारनम्बर ।
कपिलवस्तु प्रशासनले लगाएको निषेधाज्ञा अर्थात ‘कर्फ्यू’को विहीबार तेस्रो दिन पनि वातावरण सुनसान छ । विहानै देखि सडक, चोकचौराहामा मानिसको जमघट घटेको छ भने नीजि सवारी साधन पनि पूर्णतया ठप्प छन । ‘कर्फ्यू’ उल्लङ्घन गर्ने माथि सुरक्षाकर्मीले ठाउँ ठाउँमा निगरानी बढाएका छन ।
विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमण नेपालमा पनि भित्रिएपछि सरकारले मंगलबार देखि देशभर ‘लकडाउन’को घोषणा गरेको थियो । तर, कपिलवस्तुबासीले यसलाई वेवास्था गरेपछि जिल्ला प्रशासनले जिल्लाभर निषेधाज्ञा (कर्फ्यू’) जारी गर्न बाध्य भएको थियो ।
बुधबार दोस्रो दिनपनि कपिलवस्तु सुनसान नै रह्यो । ‘कर्फ्यू’ उल्लङ्घन गर्ने दर्जन बढी सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएर कारबाही गरेको थियो भने केही व्यक्ति पनि प्रहरीको कारबाहीमा परेका थिए । जिल्ला प्रशासन कार्यालयले आवश्यक काम बाहेक घरमै क्वारेनटाइन बनाएर बस्न आग्रह गरेको छ ।
यता ‘लकडाउन’को तेश्रो दिन विहानैबाट देशभरको बातावरण सुनसान छ । लकडाउनको दोश्रो दिन बुधबार अघिल्लो एक दिनभन्दा प्रभावकारी देखिएको थियो । विगतका दिनमा पूर्व पश्चिम राजमार्गमा रातभर सवारी साधन सञ्चालन भएपनि सडक सुनसान छन । विहीबार दिनभर पनि मुलुक लकडाउनकै अवस्थामा रहने छ ।
बुधबार लकडाउनको दोस्रो दिन देशभरिको अवस्था सामान्य रह्यो । देशभर बुधबार पनि सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, कुटनैतिक नियोग, एम्बुलेन्स, अत्यावश्यक र जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएका सवारी साधन मात्र चलेका थिए ।
अन्य सवारी साधन चलाउन भने निषेध गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : १३ चैत्र २०७६ बिहिबार ००:००  १० : ४७ बजे