८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

नोवेल कोरोनाः मृतकको संख्या २१ हजार बढी



काठमाडौं ।
विश्वका विभिन्न देशमा कोरोना भाइरस (कोभिड १९) का कारण ज्यान गुमाउनेको सङ्ख्या २१ हजार नाघेको छ । गएको २४ घण्टामा सबैभन्दा धेरै इटलीमा ६ सय ८३ र स्पेनमा ६ सय ५६ जनाको ज्यान गएको छ । योसँगै विश्वभरि कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या २१ हजार एक सय ७८ पुगेको छ । यस्तै इटलीमा मात्रै सात हजार पाँच सय तीन र स्पेनमा तीन हजार ६ सय ४७ जनाको ज्यान गएको छ । यो चीनको भन्दा पनि धेरै हो । चीनमा अहिलेसम्म तीन हजार दुई सय ८१ जनाको ज्यान गएको छ ।
अहिलेसम्म विश्वका एक सय ९८ देश र जापानको योकोहामा बन्दरगाहमा पुगेको अन्तर्राष्ट्रिय पानी जहाजमा फैलिएको छ । अहिलेसम्म चार लाख ६७ हजार आठ सय ९० जनामा सङ्क्रमण देखिएकोमा एक लाख १३ हजार आठ सय ९ जना निको भएका छन् । अहिले विश्वका एक सय ९७ देश र जापानको योकोहामा बन्ददरगाहमा पुगेको अन्तर्रा्ष्ट्रिय पानी जहाजमा गरी तीन लाख ३२ हजार ९ सय तीन जनाको उपचार भइरहेको छ । एक लाख १३ हजार आठ सय ९ जना उपचारपछि स्वस्थ भएका छन् ।
यस्तै संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरसले कोरोना भाइरस (कोभिड १९) सम्पूर्ण मानवजातिका लागि खतरा भएको चेतावनी दिएका छन् । अहिले जुन रुपमा भाइरस फैलिएको छ, यसले मानवको अस्तित्व के हुन्छ भन्ने नै अन्योल भएको भन्दै महासचिव गुटेरसले कोरोनाविरुद्ध सम्पूर्ण मानव लाग्नुपर्ने बताए ।यो महामारीलाई विकसित देशहरुले नियन्त्रण गर्न सक्ने भए पनि विकासोन्मुख देशहरूमा डढेलो झैँ फैलन गइ दशौँ लाख मानिसको ज्यान जान सक्ने गुटेरसले चेतावनी दिएको बीबीसीले जनाएको छ ।
तीव्र गतिमा फैलिने शक्ति भएको कोरोनाविरुद्ध देशहरुको एक्ला एक्लै लडाइँ पर्याप्त नहुने भन्दै गुटेरसले सबै देशहरुले संयुक्त लडाइँ सुरु गर्नुपर्नमा जोड दिए ।एक्लै लड्दा भाइरसले स्वरूप बदल्ने अवसर पाउने र यदि स्वरुप बदलियो भने बनाइँदै गरेका खोप पनि काम नलाग्ने गरी फेरि सबैलाई आक्रमण गर्ने भन्दै उनले संयुक्त लडाइँबाट कोरोना भाइरसलाई जित्नुपर्ने बताए ।

प्रकाशित मिति : १३ चैत्र २०७६ बिहिबार ००:००  ८ : २५ बजे