८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

स्पेनमा एकै दिन ७ सय ३८ को मृत्यु, अमेरिकामा संक्रमण तीव्र गतिमा फैलिदै



एजेन्सी ।
कोरोना भाइरसको संक्रमणका कारण स्पेनमा ज्यान गुमाउनेको संख्या चीनमा भन्दा धेरै भएको छ । बुधबार एकै दिन स्पेनमा थप ७ सय ३८ जनाको मृत्यु भएपछि स्पेनमा कोभिड १९ का कारण ज्यान गुमाएको संख्या यो भाइरसको सुरुवात भएको चीनमा भन्दा धेरै भएको हो ।

स्पेनमा हालसम्म ३४ सय ३४ जनाको कोभिड १९ का कारण ज्यान गएको छ । चीनमा कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या ३२ सय ८१ रहेको छ । चीनमा पछिल्लो समय कोरोना भाइरसको संक्रमण तथा यसका कारण हुने मृत्यु लगभग नियन्त्रणमा आएको छ ।

तर युरोपको इटाली, स्पेनसहितका देश तथा अमेरिकामा यसको संक्रमण तीव्र गतिमा फैलिएको छ । इटालीपछि कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या बढी हुने देशको सूचीमा स्पेन दोस्रो स्थानमा पुगेको छ ।

कोभिड १९ ले सबैभन्दा धेरैको ज्यान लिएको इटालीमा मृत्यु हुनेको संख्या ६ हजार ८२० रहेको छ । कोरोना भाइरसका कारण इरानमा २ हजार ७७, फ्रान्समा ११ सय तथा अमेरिकामा ७ सय ८५ जनाको मृत्यु भइसकेको छ ।

संक्रमित हुनेको कुल संख्याअझै पनि चीनमा धेरै छ । चीनमा ८१ हजार २१८, इटालीमा ६९ हजार १७६, अमेरिकामा ५५ हजार ८१ तथा स्पेनमा ४७ हजार ६१० जनामा संक्रमण पुष्टि भएको छ ।

विश्वभर कुलचार लाख ३८ हजार ५६२ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै विश्वभर ज्यान गुमाउनेको संख्या १९ हजार ६५६ रहेको छ । एक लाख ११ हजार ९२३ जना निको भएर घर फर्किएका छन् ।

प्रकाशित मिति : १२ चैत्र २०७६ बुधबार ००:००  १० : १६ बजे