मायादेवी अनलाइन, चारनम्बर ।
कपिलवस्तुमा बुधबारसम्म ४६ जनालाई क्वारेनटाइनमा राखिएको छ । मुलुकभर कोरोनाको सन्त्रास बढिरहेका बेला कपिलवस्तुका बिभिन्न स्थानबाट कोरोनासंग मिल्दोजुल्दो लक्षण देखिएपछि उनीहरुलाई क्वारेनटाइनमा राखिएको जनाइएको छ । जिल्ला प्रशासन कार्यालय कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलका अनुसार सबैभन्दा धेरै कृष्णनगरमा ३६ जनालाई क्वारेनटाइनमा राखिएको हो ।
उनीहरु सबै भारतबाट नेपाल फर्कने क्रममा सिमा नाकामा अलपत्र परेका कारण केन्द्र सरकारको निर्णय अनुसार नेपाल भित्त्राएर क्वारेनटाइनमा राखिएको पौडेलले मायादेवी अनलाइनलाई जानकारी दिनुभयो । कृष्णनगरपछि कपिलवस्तु नगरपालिकामा ८ र मायादेवी गाउँपालिकामा १ जनालाई क्वारेनटाइनमा राखिएको छ । उनीहरुलाई १४ दिनको निगरानी गरेपछि मात्र घर जान दिइने जनाइएको छ । यस्तै जिल्लाका अन्य पालिकामा कसैलाई पनि क्वारेनटाइनमा राख्नु पर्ने अवस्था नआएको बताइएको छ ।
मंगलबार (हिजो) बुद्धभूमि नगरपालिकामा क्वारेनटाइनमा बसेका मध्ये बुद्धभूमि नगरपालिकाका एक जनालाई घर पठाइएको छ । कतारबाट आएका उनी फ्रान्सकी युवतीसंगै एउटै विमानमा नेपाल आएको आशंकामा उनलाई क्वारेनटाइनमा ल्याइएको थियो ।
कोरोनाको लक्षण नदेखिएपछि उनलाई बुधबार घर पठाइएको बुद्धभूमि नगरपालिकाका नगर प्रमुख केशव कुमार श्रेष्ठले जानकारी दिनुभयो ।
नेपालमा अहिलेसम्म ३ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ । कोरोनाबाट हुन सक्ने जोखिम नियन्त्रणको लागि सरकारले मुलुकलाई ‘लकडाउन’ गरेको छ ।
१२ चैत्र २०७६ बुधबार ००:००
0
Shares
प्रतिक्रिया