मायादेवी अनलाइन, चन्द्रौटा ।
कपिलवस्तुको शिवराज नगरपालिकामा यही फागुन २८ गतेदेखि संचालन हुने कक्षा ८को आधारभूत तह उत्तीर्ण परीक्षा होम सेन्टरमा हुने भएको छ ।
बिहीबार आधारभूत तह उत्तीर्ण परीक्षा समितिको आकस्मिक बैठकले पूर्व निर्धारित परीक्षा केन्द्रहरु रद्द गरी सम्बन्धित विद्यालयमा परीक्षा केन्द्र कायम गरेको हो । बैठकले सम्बन्धित विद्यालयको प्रधानाध्यापकलाई नै केन्द्राध्यक्ष तोक्ने निर्णय गरेको शिवराज नगरपालिका शिक्षा, युवा तथा खेलकूद शाखा अधिकृत पूर्णबहादुर विश्वकर्माले जानकारी दिए ।
कोरोना भाइरसको उच्च जोखिममा नेपाल रहेकाले सरकारले ठूला भिडभाड, जमघट नगर्न चेतावनी जारी गरेको छ । विद्यालयको बार्षिक परीक्षा आ–आफ्ना स्थानीय तहले फरक फरक समयमा सञ्चालन गर्न सक्ने कानुनी व्यवस्था छ । कोरोना भाइरसको त्रासका कारण पूर्व निर्धारित परीक्षाकेन्द्र रद्द गरी सम्बन्धित विद्यालयमा परीक्षा केन्द्र कायम गरेको शिक्षा, युवा तथा खेलकूद शाखा प्रमुख लोकराज पन्थीले बताएका छन् । “असहज परिस्थिति सिर्जना भएका कारण परीक्षा केन्द्र हेरफेर गरेका हौं” –उनले भने ।
२२ फाल्गुन २०७६ बिहिबार ००:००
0
Shares
प्रतिक्रिया