काठमाडौं ।
मिर्गाैलाको प्रत्यारोपणपछि अस्पतालमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा अपेक्षाकृत सुधार आएको अस्पतालले जनाएको छ ।
शिक्षण अस्पताल परिसरमा बिहीवार अपराह्न पत्रकार सम्मेलनको आयोजना गरी अस्पताल प्रशासन र प्रधानमन्त्रीको सचिवालयले ओलीको स्वास्थ्य अवस्थामा सुधार आएको जानकारी गराएको हो ।
पत्रकार सम्मेलनमा अस्पतालका निर्देशक प्रा.डा. प्रेमकृष्ण खड्गाले प्रत्यारोपणको दोस्रो दिन स्वास्थ्यमा अपेक्षित सुधार आएको जानकारी गराएका हुन् ।
‘प्रत्यारोपित मृर्गाैलाले पनि सामान्य रुपमा काम गर्न थालेको छ,’ डा. खड्गाले भने, ‘उहाँका सबै भाइटल तथा ल्याब सूचकहरू सामान्य अवस्थामा छन् । उहाँलाई आजैदेखि तरल र नरम आहार दिन थालिएको छ ।’
बुधवार प्रधानमन्त्री ओलीको मिर्गाैला प्रत्यारोपण गरिएको थियो । ओलीलाई मिर्गाैला दान गरेकी समीक्षा संग्रौलाको पनि स्वास्थ्य स्थिति स्थिर रहेको अस्पतालले बताएको छ ।
प्रधानमन्त्री ओलीलाई पाकिस्तानका प्रधामनन्त्री इमरान खानले स्वास्थ्य लाभको शुभकामना सन्देश पठाएका पत्रकार सम्मेलनमा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । ओलीले केही दिन अस्पतालमै बसेर आराम गर्ने अस्पताल स्रोतले जनाएको छ ।
प्रतिक्रिया