मायादेवी अनलाइन, चारनम्बर ।
कपिलवस्तुको वाणगंगा नगरपालिकाले प्रधानमन्त्री स्वरोजगार कार्यक्रमका लागि चालु आवका योजना छनोट गरेको छ । विहीबार बसेको नगर कार्यपालिकाको बैठकले १ सय दिने बेरोजगारलाई रोजगार दिने गरी योजना छनोट गरेको हो ।
केन्द्र सरकारले हरेक स्थानीय तहलाई १० लाख देखि ७५ लाखसम्म वेरोजगार नागरिकका लागि रोजगारी दिने गरी बजेट छुट्याउने गरेको छ । सोही अनुसार ७५ लाख प्राप्त गरेको वाणगंगाले विकास निर्माणका काममा लगाउने गरी योजना छनोट गरेको नगरपालिकाका प्रवक्ता विष्णु पौडेलले मायादेवी अनलाइनलाई जानकारी दिनुभयो ।
गत बर्ष बेरोजगार फारम भरेकाहरुले मात्र यो अवसर पाउने नगर प्रवक्ता पौडेलले बताउनुभयो । प्रत्येक वडामा बेरोजगारहरुको तथ्याङ्क रहेको भन्दै सोही तथ्याङ्कको आधारमा रोजगारी दिने गरी प्रक्रिया अगाडी बढाइने उहाँले प्रष्ट पार्नुभयो ।
गत बर्ष समय अगावै यो कार्यक्रम सञ्चालन गर्न नसक्दा काम त्यति धेरै प्रभावकारी देखिएको थिएन् । कतिपय स्थानीय तहले बजेट सकाउनकै लागि बारीका मकै खन्ने, झाडी सफाई गर्ने काममा लगाएर बजेट सकाए पछि तीव्र आलोचना भएको थियो । यद्यपि यो बर्ष समयमै बजेट आएकोले काम प्रभावकारी देखिने विश्वास लिइएको छ ।
यसैबीच नगर कार्यपालिकाको बैठकले तराई मधेस समृद्धि कार्यक्रमको लागि योजना छनाट गरेको छ । सिंचाई, स्वास्थ्य, सडक र शिक्षालाई बढी जोड दिएको योजना बनाई बजेट माग गरिएको प्रवक्ता पौडेलले बताउनुभयो ।
यसैगरी बैठकले कोरोना भाइरसबाट बच्नका लागि भिडभाडमा नजान, ठूला ठूला कार्यक्रम आयोजना नगर्न नगरबासीमा आग्रह गरेको छ ।
२२ फाल्गुन २०७६ बिहिबार ००:००
0
Shares
प्रतिक्रिया