८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

६ वटा गाडीमा आगजनी गर्ने विप्लव कार्यकर्ता, भेटियो पर्चा !



मायादेवी अनलाइन, विजयनगर ।
प्रतिबन्धित विप्लव कार्यकर्ताले कपिलवस्तुमा ६ वटा गाडीमा आगजनी गरेका छन् । उनीहरुले कपिलवस्तुको हुलाकी सडक निर्माणको ठेकेदार कम्पनी शर्मा एण्ड शर्माको ६ वटा गाडीमा बुधबार मध्यरातमा आगजनी गरेका हुन् ।

रोकी राखिएको २ वटा स्काभेटर, २ वटा जेसिबी र २ वटा पिकअप भ्यानमा आगजनी गरिएको हो। घटनास्थल नेकपाका अति प्रभावित ठाउँ हो । कपिलवस्तुको शिवराज नगरपालिका १ तुरुन्तपुरमा १ वटा स्काभेटर, विजयनगर गाउँपालिका २ लोहरौलामा २ जेसिबी र २ वटा महेन्द्रा पिकअप गाडीमा आगजनी गरिएको थियो । आगजनी भएका उक्त सामग्री हुलाकी मार्ग निर्माण गर्ने जिम्मा लिएको शर्मा एण्ड शर्मा कम्पनीको रहेको प्रहरीले जनाएको छ ।

हुलाकी मार्ग निर्माण प्रयोग गरिएका निर्माण साधनमाथी आगजनी भएको हो । आगलागीबाट गाडीहरु पूर्णरुपले क्षति भएको ईलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरीक्षक मधु नेपालले बताए । राति सडक बनाउन बस्ने कामदारको कोठामा बाहिरबाट चुकुल बन्द गरेर गाडीमा आगजनी गरेको प्रहरी निरीक्षक नेपालले जानकारी दिए ।

घटनास्थलमा पर्चा पनि भेटिएको छ। जसमा शर्मा एण्ड शर्मा कम्पनीमाथि बिभिन्न ओरोपहरु लगाइएको छ । घटनाकोे अनुसन्धान र आगजनी गर्ने समूहको खोजी भईरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका डिएसपी सुनिल मल्लले बताए ।

प्रकाशित मिति : २२ फाल्गुन २०७६ बिहिबार ००:००  १ : ५९ बजे