मायादेवी अनलाइन, चारनम्बर ।
कपिलवस्तुमा पहिलो पटक मोडल युनाइटेड नेशन (मुन) कार्यक्रम हुँदै छ । बाणगंगा २ पिपरामा रहेको हिलवर्ट इङ्लिस बोर्डिङ स्कुलले ‘हिलवर्टमा मुन‘ नाम दिएर कार्यक्रम आयोजना गर्न लागेको हो ।
यो कार्यक्रम बिभिन्न विद्यालयले आयोजना गर्ने साप्ताहिक अतिरिक्त क्रियाकलापभन्दा नितान्त भिन्न रहेको विद्यालयले जनाएको छ । काठमाण्डौँ र बुटवलमा यस्तो खालको कार्यक्रम भए पनि कपिलवस्तुमा भने कुनै विद्यालयले अहिलेसम्म कार्यक्रम आयोजना नगरेको विद्यालयका अध्यक्ष दीपक खनालले जानकारी दिनुभयो ।
यो कार्यक्रम संयुक्त राष्ट्रसंघमा बिभिन्न देशका राष्ट्र प्रमुखहरुको वैठकमा हुने बिभिन्न छलफलको ढाँचामा विद्यार्थीले छलफल गर्ने उहाँको भनाई छ । मुख्यगरी विद्यार्थीहरुलाई समुहमा बिभाजन गरेर कुनै पनि राष्ट्रको सामाजिक तथा राजनैतिक समस्या र विषयवस्तुको बारेमा कुनै शीर्षक दिइने छ र त्यसमा विद्यार्थीहरु रमाइलो ढंगबाट छलफल गरेर बिभिन्न देशको प्रतिनिधित्व गर्दै विचार राख्न सक्छन् ।
यसले विद्यार्थीको व्यक्तित्व विकाससंगै कुनै पनि मुलुकको जल्दोबल्दो विषयमा चेतना प्रदान गर्ने छ भने तत् विषयमाथि विश्लेषण गरी निर्णयमा पुग्ने आइडीवस ग्लोबलका निर्देशक सुदर्शन सुवेदीले बताउनुभयो । उहाँका अनुसार यो कार्यक्रमले विद्यार्थीको कुटनैतिक क्षमताको पनि विकास गर्ने छ ।
उहाँले भन्नुभयो, “यो कार्यक्रममा विद्यार्थीहरु राष्ट्रसंघको कार्यक्रममा जस्तै बिभिन्न देशको प्रतिनिधित्व गर्दै छलफलमा सहभागी हुन्छन् । अनि क्रमिक रुपमा विचार राख्छन् । त्यसपछि निष्कर्षमा पुग्ने काम हुन्छ ।”
विद्यालयका निर्देशक बुद्धि पौडेलले यो कार्यक्रमले विद्यार्थीको अभिब्यक्ति क्षमताको विकास, निश्चित विषयको सिमा क्षेत्रभित्र रहेर पक्ष विपक्षमा आ–आफ्ना तर्क प्रस्तुत गर्ने सीपको विकास हुने दाबी गर्नुभयो ।
दुई दिन हुने यो कार्यक्रमको अन्तिम दिन यस क्षेत्रका बिभिन्न राजनैतिक, सामाजिक, शैक्षिक ब्यक्तित्व र संचारकर्मीको सहभागितामा नमुना अभ्यास गराइने विद्यालयका प्राचार्य कमल पौडेलले बताउनु भयो । कार्यक्रमको सहजकर्तामा इडिवस काठमाण्डौँका निर्देशक सुदर्शन सुवेदी, पराजुली र केशव भण्डारीले गर्नु हुने विद्यालयले जनाएको छ ।
२१ फाल्गुन २०७६ बुधबार ००:००
0
Shares
प्रतिक्रिया