८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

अझै व्यवस्थित बन्दै गोरुसिंगेको सर्पदंश उपचार केन्द्र



मायादेवी अनलाइन, बुद्धभूमि ।
कपिलवस्तु सर्पदंश उपचार केन्द्रलाई कार्यविधि बनाएर अझै व्यवस्थित पारिने भएको छ । त्यसको लागि बुद्धभूमि नगरपालिकाले कार्यविधिको मस्यौदा तयार पारेको छ । बुधबार गोरुसिंगेमा भएको एक कार्यक्रममा मस्यौदाबारे जानकारी दिइएको छ ।
नगर प्रमुख केशव कुमार श्रेष्ठको पहलमा जिल्लाका सबै स्थानीय तहका प्रमुख र गोरुसिंगे क्षेत्रका प्रमुख सरोकारवालालाई बोलाएर मस्यौदाबारे जानकारी दिइएको हो । बुधबार भएको मस्यौदा उपर छलफल पश्चात आवश्यक संशोधन गरी कार्यविधिलाई तत्कालै सञ्चालनमा ल्याउनुपर्नेमा जोड दिइएको थियो ।

सर्पदंश उपचार केन्द्र सञ्चालनमा समस्या परिरहेको बेला बनाइएको कार्यविधि पश्चात यहाँबाट प्रदान गरिने सेवा सुविधा अझै भरपर्दो हुने विश्वास लिइएको छ । स्थानीय सरकारका रुपमा रहेको बुद्धभूमिले थालेको यो कार्यप्रति सरोकारवालाहरुले प्रशंसा गरेका छन् ।
नगर कार्यपालिकाबाट अनुमोदन भए पश्चात सञ्चालनमा आउने कार्यविधिमा बुद्धभूमिका नगर प्रमुख संयोजक, जिल्लाका अरु स्थानीय तहका प्रमुख सदस्य रहने गरी उपचार केन्द्रमा निर्देशक समिति गठन गर्ने व्यवस्था छ । समितिको सदस्य सचिवमा भने बुद्धभूमि नगरका प्रमुख प्रशासकीय अधिकृत रहनेछन् ।
५ हजार सहयोग गर्नेलाई साधारण सदस्यता दिने र १० हजार सहयोग गर्नेलाई आजीवन सदस्य बनाउने कार्यविधिमा उल्लेख छ । यो व्यवस्थालाई सबैले समर्थन गरेका छन् । कार्यविधि सञ्चालनमा आएको ६ महिना पछि केन्द्र सञ्चालनको लागि व्यवस्थापन समिति गठन हुनेछ । साथै आवश्यक परे विभिन्न उपसमिति गठन गर्ने गरी कार्यविधिको मस्यौदा तयार पारिएको छ ।
तराईमा सर्पको विगविगी बढीरहेका बेला गोरुसिंगेको सर्पदंश उपचार केन्द्रले धेरै नागरिकलाई बचाएको भन्दै यसलाई थप व्यवस्थित पार्न आफ्नो तर्फबाट महत्वपूर्ण सहयोग रहने शिवराज नगरपालिकाका नगर प्रमुख नेत्रराज अधिकारीले प्रतिवद्धता जनाउनुभएको छ । शिवराज नगरपालिकाका नागरिकले यो उपचार केन्द्रबाट सेवा लिदै आएको बताउँदै नगरको तर्फबाट सक्दो सहयोग रहने उहाँले बताउनुभयो ।


बुद्धभूमिका नगर प्रमुख केशव कुमार श्रेष्ठको अध्यक्षतामा भएको छलफल कार्यक्रममा बुद्धभूमिकी नगर उप प्रमुख मिरा थारु, नेकपाका नेता पिताम्बर खनाल, समाजबादी पार्टीका नेता विष्णुहरि शर्मा, बुद्धभूमि उद्योग वाणिज्य संघका अध्यक्ष शुभलाल भुसाल लगायत दुई दर्जन सरोकारवालाको उपस्थिती रहेको थियो ।
नगरपालिकाका प्रशासकीय अधिकृत राजन पोख्रेलको सहजिकरणमा भएको छलफलमा विभिन्न व्यक्तिले कार्यविधि माथि सुझाव राखेका थिए । प्राप्त सुझावलाई ग्रहण गरी कार्यविधि तयार पारिने नगर प्रमुख श्रेष्ठले प्रतिवद्धता जनाउनुभएको थियो ।
विं.स. २०३८ सालमा नेपाली सेनाको पहलमा सञ्चालनमा आएको यो सर्पदंश उपचार केन्द्र पश्चिम नेपालकै एक मात्र सर्पदंश उपचार केन्द्र हो । दाङ, प्यूठान, रोल्पा, अर्घाखाँची, गुल्मी र भारतका विभिन्न जिल्लाबाट यहाँ सर्पले टोकेका विरामी आउने गर्छन । आजभन्दा तीन बर्ष पहिला सामान्य प्रतिक्षालयबाट सञ्चालनमा आएको सर्पदंश उपचार केन्द्र अहिले आफ्नै पक्की भवनबाट सञ्चालनमा आएको छ ।

प्रकाशित मिति : २१ फाल्गुन २०७६ बुधबार ००:००  ८ : ३४ बजे