८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

तिलोत्तमालाई खरको छाना मुक्त बनाइने



बुटवल ।
रुपन्देहीको तिलोत्तमा नगरपालिकाले नगरलाई खरको छानोमुक्त नगर बनाउने भएको छ । आर्थिक अभावको कारण खरको छानोमुनि बस्न बाध्य नगरबासीका लागि नगरपालिकाले जस्ता पाता दिएर खरको छानोमुक्त बनाउने भएको हो ।
खरको छानोमुक्त नगर बनाउन नगर कार्यपालिका वैठकले ५० लाख रुपैयाँ भन्दा बढी बजेट विनियोजन गर्ने निर्णय गरेको छ । नगरपालिकाका वडा नम्बर १०, ११, १२, १३, १४ र १७ का करिब पाँच सय घरधुरीमा खरले छाएका छाना छन् ।
चालु आर्थिक वर्षमा ३० लाख रुपैयाँ वजेट खर्च गरेर खरले छाएका घरमा जस्ता पाता लगाउन नगरपालिकाले उपप्रमुख जागेश्वरी चौधरीको संयोजकत्वमा कार्यदल गठन गरेको छ । कार्यदलले नगरपालिकामा रहेका खरको छानायुक्त घरधुरीलाई जस्तापाता उपलब्ध गराउने छ ।
नगरपालिकाले कार्यक्रमका लागि अपुग बजेट अर्को आर्थिक वर्षमा व्यवस्था गरेर नगरलाई खरको छानोमुक्त नगरपालिका बनाउने निर्णय गरेको प्रवक्ता सुरेन्द्र श्रीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २१ फाल्गुन २०७६ बुधबार ००:००  ६ : ४५ बजे