मायादेवी अनलाइन, बुद्धभूमि ।
कपिलवस्तुको बुद्धभूमि नगरपालिकाका नगर प्रमुख केशव कुमार श्रेष्ठले कोराना भाइरसबाट सजग रहन सम्पूर्ण नगरबासीमा आग्रह गर्नुभएको छ । विश्वभर त्रास फैलाएको कोरोना भाइरस कुनै पनि बेला, जुन सुकै व्यक्तिलाई लाग्न सक्ने भन्दै पूर्व सचेतना जरुरी रहेको उहाँले औल्याउनुभयो । नगरपालिकाद्धारा गोरुसिंगेमा बुधबार आयोजित एक कार्यक्रममा बोल्दै कोरोना भाइरसबाट सजगताका लागि नगर भित्र कुनै पनि सभा, सम्मेलन, गोष्ठि, सेमिनार गर्न निशेष गरिएको उहाँले जानकारी दिनुभयो ।
बुधबार विहान नगर शिक्षा समितिको बैठक बसेर बार्षिक परीक्षा चैत्र ५ गतेभित्र सक्ने गरी आवश्य तयारी गरिएको उहाँले बताउनुभयो । केन्द्र सरकारले मंगलबार मात्र बार्षिक परीक्षा चैत्र ५ गतेभित्र सक्न निर्देशन जारी गरेको थियो । सोही निर्देशन अनुरुप बुद्धभूमि नगरपालिकाले फाल्गुण २८ गतेदेखि नगरका कक्षा १ देखि ९ सम्मको बार्षिक परीक्षा सञ्चालन गर्ने निर्णय गरेको उहाँले बताउनुभयो ।
साथै नगरपालिकाले अन्तर्राष्ट्रिय नारी दिवस मनाउने कार्यक्रम पनि स्थगित गरेको जानकारी दिनुभयो । नारी दिवसमा नगरले भव्य कार्यक्रम गर्ने लक्ष्य राखेपनि कोरोना भाइरसको त्रासले यो कार्यक्रम स्थगन गरिएको उहाँले बताउनुभयो । अब नारी दिवसमा वडा तहस्तरमा सामान्य जमघट भएर मात्र कार्यक्रम गर्न सकिने उहाँको भनाई छ ।
कोरोना भाइरस अन्त्यन्तै गम्भिर खालको भएकोले ठूला भिडभाडमा नजान पनि उहाँले आग्रह गर्नुभएको छ । भाइरसको त्रासले विज्ञहरुले हात नमिलाउन आग्रह गरिरहेको बेला नगर प्रमुख श्रेष्ठले पनि हात नमिलाउन आग्रह गर्नुभएको छ । ‘अब केही समय हात नमिलाऔं, मन मात्र मिनाऔं उहाँले भन्नुभयो, “कोरोना भाइरसप्रति सबै आ–आफ्नो क्षेत्रबाट सचेत बन्न जरुरी छ ।” आउँदै गरेको होली पर्वमा पनि ठूला कार्यक्रम गर्न नगरभित्र निषेध गरिएको उहाँले बताउनुभयो ।
२१ फाल्गुन २०७६ बुधबार ००:००
0
Shares
प्रतिक्रिया