८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

प्रधानमन्त्रीको सफलतापूर्वक मिर्गौला प्रत्यारोपण, नयाँले काम गर्न थाल्यो



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको बुधबार दोस्रो पटक सफलतापूर्वक मिर्गौला प्रत्यारोपण भएको छ। मिर्गौला दाता समीक्षा संग्रौलाको शल्यक्रिया सकिए लगत्तै सफलतापूर्वक प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण भएको डा प्रेमराज ज्ञवालीले जानकारी दिए। ‘नयाँ किड्नीले काम गर्न पनि थालिसकेको चिकित्सकले बताएका छन् ।

मिर्गौला प्रत्यारोपणका लागि प्रधानमन्त्री ओलीलाई बुधबार बिहान सबा १० बजे शल्यक्रिया कक्षमा लगिएको हो। चिकित्सकले शल्यक्रिया सम्पन्‍न गर्न ४ देखि ५ घण्टासम्म लाग्‍ने बताएका छन्। मिर्गौला प्रत्यारोपण टिममा शिक्षण अस्पतालका अनुभवी चिकित्सकसँगै पहिलो प्रत्यारोपणमा सहभागी तीनजना भारतीय चिकित्सकसमेत रहेका छन्।

प्रधानमन्त्री ओलीको एउटा मिर्गौलाले काम गर्न छाडेपछि २०६४ सालमा भारतको एपोलो अस्पतालमा पहिलो पटक मिर्गौला प्रत्यारोपण गरिएको थियो।

अस्पतालभित्र शल्यक्रिया भइरहँदा बाहिर नेकपाका नेता कार्यकर्ता, शुभचिन्तक र सर्वसाधरण प्रधानमन्‍त्रीको सफल शल्यक्रिया र स्वास्थ्यलाभको कामना गरिरहेका छन्। प्रधानमन्‍त्रीको तस्बिर अंकित प्लेकार्ड प्रदर्शन गरिएका छन्।

त्रिवि शिक्षण अस्पतालको एनेक्स मेडिकल वार्डमा प्रधानमन्त्री ओलीलाई राखिएको छ। शल्यक्रियाका लागि डा।प्रेम ज्ञवालीको टोली र डा। उत्तम शर्माको टोली खटिएको छ। एक टोलीले दाताको शल्यक्रिया गर्ने र अर्को टोलीले प्रधानमन्त्रीको शल्यक्रिया गर्नेछ। शल्यक्रियापछि कम्तीमा दस दिन अस्पतालमै आराम गर्नुपर्ने प्रारम्भिक सल्लाह चिकित्सकले दिएका छन्।

स्वास्थ्यमा समस्या देखिएपछि ओली उपचारका लागि गत भदौंमा सिंगापुर गएका थिए।त्यहाँ उनले प्लाज्माफेरेसिसु गरिएको थियो। त्यहाँ १५ दिनको बसाइपछि प्रधानमन्त्री स्वदेश फर्केका थिए।त्यसपछि उनी नियमित मिर्गौला डायलासिस गर्दै आएका थिए।त्रिवि शिक्षण अस्पतालको उच्च स्रोतले दिउँसो ४ बजेपछि शल्यक्रिया र प्रधानमन्त्रीको अवस्थाबारे जानकारी दिने बताएको छ।

प्रकाशित मिति : २१ फाल्गुन २०७६ बुधबार ००:००  ३ : ११ बजे