८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

इस्टर्न रिजन टि–२० मा नेपालद्धारा थाइल्यान्ड ९ विकेटले पराजित, छनोट सम्भावना के छ ?



काठमाण्डौँ ।

एसीसी इस्टर्न रिजन टि–२० क्रिकेटमा नेपालले पहिलो जित निकालेको छ। बुधबार बिहान भएको खेलमा नेपालले आयोजक थाइल्यान्डलाई ९ विकेटले पराजित गरेको हो।थाइल्यान्डले दिएको ६७ रनको लक्ष्य नेपालले ५।३ ओभरमै १ विकेट गुमाएर भट्टायो। नेपालका लागि ओपनर कुशल मल्लले विष्फोटक ब्याटिङ गरे। उनले १८ बलमा ३६ रन जोडे। त्यस्तै पवन सर्राफले १० बलमा २७ रन बनाए भने ओपनिङमा आएका पारस खड्काले ९ रन बनाए। उनी नोफोन सेनामोन्त्रीको बलमा बोल्ड आउट भएका थिए।

यसअघि टस जितेर पहिलो ब्याटिङ गरेको थाइल्यान्डले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै ६६ रन बनाएको थियो। उसका लागि हेनो जोर्डन र फिरियापोङले समान १३र१३ रन जोडे भने अन्य ब्याट्स्म्यानले दोहोरो अंकको रन बनाउन सकेनन्।तुलनात्मक कमजोर ठानिएको थाइल्यान्डलाई सस्तैमा समेट्न नेपालका करण केसीले ३ विकेट लिए। त्यस्तै अबिनाश बोहराले २ र सन्दीप लामिछानेले १ विकेट लिए। भुवन कार्कीको नाममा पनि १ विकेट रह्यो । थाइल्यान्डका ३ ब्याट्सम्यान रन आउट भएका थिए।यसअघि पहिलो खेलमा नेपाल मलेसियासँग २२ र दोस्रो खेलमा हङकङसँग ४३ रनले पराजित भएको थियो।

यो नेपालको टि ट्वान्टीमा सर्वाधिक छिटो जित हो । यस अघि नेपालले गत जुलाईमा सिंगापुरमा भएको आईसीसी टि ट्वान्टी एसिया रिजन छनोटमा कुवेतले प्रस्तुत गरेको १ सय ४२ रनको लक्ष्य १५.३ ओभरमा ३ विकेट गुमाउँदै पुरा गरेको थियो । जुननै नेपालको टि ट्वान्टी आईमा सर्वाधिक छिटो जित रहँदै आएको थियो । अर्थात उक्त खेल नेपालले २५ बल अगाडीनै पुरा गरेको थियो भने आज ८७ बल अगाडीनै जित दर्ता गरेको हो ।नेपालले अन्तिम खेल शुक्रबार सिंगापुरसँग खेल्ने छ । नेपाल पहिलो खेलमा मलेसियासँग २२ रन र दोस्रो खेलमा हङकङसँग ४३ रनले पराजित भएको थियो ।

साथै आज हुने अर्को हङकङ र सिंगापुरको नतिजाले ठूलो प्रभाव पार्ने छ । हङकङले सिंगापुरलाई हराएको खण्डमा नेपालको एसिया कप छनोट खेल्ने सम्भावना कायमै रहने छ । सिंगापुरले जित्दा नेपालको एसिया कप छनोट खेल्ने सम्भावना सकिने छ । साथै नेपालले अन्तिम खेलमा सिंगापुरलाई फराकिलो अन्तरले हराउनुपर्छ । अन्य टोलीको नतिजा आफु अनुकुल आउनुपर्छ ।

प्रकाशित मिति : २१ फाल्गुन २०७६ बुधबार ००:००  २ : ३१ बजे