८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

एक क्यून्टल अवैध कुखुरा बरामद



मायादेवी अनलाइन, विजयनगर ।
कपिलवस्तुको सिमा क्षेत्र जवावैराठवाट १ क्यून्टल ब्रोइलर कुखुरा मंगलवार प्रहरीले बरामद गरेको छ । सशस्त्र प्रहरी बल डालपुरबाट खटिएको मोबाइल टोलीले विजयनगर गाउँपालिकाको वडा नं. १ जवाबैराठमा विहान साढे सात बजे ब्रोइलर कुखुरा बरामद गरेको सशस्त्र बल डालपुरका प्रहरी निरिक्षक अनिरुद्र हाजराले जानकारी दिनुभयो ।
भारतबाट अवैध रुपमा चोरी निकासी गरी ल्याउँदै गरेको अवस्थामा प्रहरी टोलीलाई देखेर तस्कर भागेको हाजराले बताउनुभयो । ब्रोइलर कुखुराको बजार मुल्य ४० हजार रुपैयाँ रहेको छ ।
स्थानिय जनप्रतिनिधि, पशु क्वारेन्टाइन चेक पोष्ट कृष्णनगरका प्रतिनिधि, सञ्चारकर्मी लगायतका रोहवरमा कुखुरालाई नष्ट गरिएको छ । खुला सिमानाको मौका छोपी विगत केही महिनादेखि तस्करहरुले नेपालमा रोगी कुखुरा आयात गरी सस्तो मुल्यमा विक्री गर्दै आएका छन् ।
बाहिरि देशवाट अवैध रुपमा आएका पशुहरु कारण विभिन्न रोग लाग्ने भएकोले यसबाट सचेत रहन र उपभोग नगर्न पशु क्वारेन्टाइन कृष्णनगरका डा. लालमणि अर्यालले आग्रह गर्नुभयो ।गत महिनामा पनि यस क्षेत्रमै ३ क्यून्टल अवैध बङ्गुरको मासु प्रहरीले फेला पारेको थियो ।

प्रकाशित मिति : २० फाल्गुन २०७६ मंगलबार ००:००  ७ : ४५ बजे