मायादेवी अनलाइन, चारनम्बर ।
कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नम्बर ११ मा वडा स्तरीय फुटवल प्रतियोगिता सुरु भएको छ । “राष्ट्रको लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद” मुल नारा सहित वडा नम्बर ११ को आयोजनामा आज (मंगलबार) बाट प्रतियोगिता सुरुभएको हो । प्रतियोगिताको वाणगंगाका उपप्रमुख चक्र अर्यालले उद्घाटन गर्नुभएको हो । प्रतियोगिता उद्घाटन गर्दै उपमेयर अर्यालले वडा स्तरीय प्रतियोगिताले लुकेर रहेका प्रतिभाहरु उजागर हुने बताउनुभयो । यस्तै उद्घाटन कार्यक्रममा बोल्दै वडा नम्बर ११ का वडा अध्यक्ष सोमनाथ अर्यालले वडाले लुकेर रहेका प्रतिभाहरुलाई प्रस्फुटन गर्न विभिन्न कार्यक्रम तथा प्रतियोगिता गर्ने भन्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताउनुभयो । स्वास्थ्यको लागि पनि खेलकुद अपरिहार्य रहेको भन्दै स्वास्थ जीवनयापनमा खेलकुदले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।
बुद्धशान्ति युवा क्लबका अध्यक्ष दयाराम शर्माको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा उद्योग बाणिज्य सघंका उपाध्यक्ष नारायण खनाल, कपिलवस्तु ब्रोड ब्याडका अध्यक्ष मनोहर कुमार योगी, वडा सदस्यहरु, विभिन्न टोल विकास सस्थाका अध्यक्ष तथा प्रतिनिधि, विभिन्न विद्यालयका अध्यक्ष लगाएतको उपस्थिती रहेको थियो । वडा स्तरीय प्रतियोगितामा वडाका विभिन्न ९ वटा टिम सहभागी छन् ।
प्रतियोगितामा प्रथम हुनेले नगद रु ११ हजार, दोस्रो हुनेले नगद ८ हजार र तेस्रो हुनेले नगद ६ हजार सहित शिल्ड मेडल प्राप्त गर्ने छन् । यसका साथै प्रतियोगितामा बिभिन्न विधामा उत्कृष्ट हुने प्रतियोगिलाई मेडल र नगद प्रदान गर्ने पनि वडाले जनाएको छ । आज (मंगलबार) बाट सुरुभएको प्रतियोगिता २५ गते सम्म संचालन हुने छ । प्रतियोगितामा मंगलबार एक खेल भएको छ ।
प्रतिक्रिया