८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

माथिल्लो सदनका १८ सांसदको दुई वर्षे कार्यकाल सकियो



काठमाडौँ ।
दुई वर्षे कार्यकाल समाप्त भएका राष्ट्रियसभाका १८ सांसदहरु मंगलबारदेखि बिदा हुँदै छन् । गोलपर्थाबाट दुई वर्षे कार्यकालमा परेका सांसदहरु बिदा भएर बुधबारदेखि नयाँ सांसद आउने छन् । यसरी बिदा हुनेमा राष्ट्रपतिबाट मनोनित भएका अर्थमन्त्री डा। युवराज खतिवडासहितका सांसद छन् । सांसद नरहे पनि डा। खतिवडा अर्थमन्त्री भने कायम नै हुने छन् ।
मंगलबारदेखि बिदा हुनेमा नेकपाका ८, कांग्रेसका ६, राजपाका दुई, समाजवादीका एक र राष्ट्रपतिबाट मनोनित एक सांसद छन् ।
दुई वर्षे कार्यकाल सकिने नेकपाका सांसदहरु हरिचरण शिवाकोटी, बलराम बास्कोटा, मीना बुढा, युटोल तामाङ, राजकुमार कुँवर, कमलाकुमारी ओली, कालिबहादुर मल्ल र खेमराज नेपाली हुन् । कांग्रेसबाट राष्ट्रियसभामा संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे, सचेतक सरिता प्रसाईसहित विन्दादेवी आले, बद्री पाण्डे, मुक्ताकुमारी यादव र धनकुमारी खतिवडाको कार्यकाल सकिँदैछ ।

यसैगरी राजपाका वृशेषचन्द्र लाल र रमेशप्रसाद यादव तथा समाजवादीका रामप्रित पासवानको पनि दुई वर्षे कार्यकाल सकिँदैछ । १८ जना सांसदको दुई वर्षे कार्यकाल सकिएर राष्ट्रियसभा सदस्य पद रिक्त हुनुअघि नै गत माघ ९ गते सातवटै प्रदेशमा चुनाव भएको थियो । जसमा नेकपाका १६ र राजपाका २ जना उम्मेदवार निर्वाचित भएका छन् । नयाँ निर्वाचित सांसदको बुधबार ११ बजे शपथग्रहण हुने भएको छ ।

प्रकाशित मिति : २० फाल्गुन २०७६ मंगलबार ००:००  २ : २४ बजे