काठमाडौँ ।
नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले पार्टीको १४औं महाधिवेशनमा संस्थापन इतरबाट एकजना मात्र उम्मेद्वार हुने दाबी गरेका छन् ।
अर्को वर्ष फागुनमा हुने पार्टीको १४औँ महाधिवेशनमा देउवा उम्मेदवार हुने निश्चित हुने भने पनि वरिष्ठ नेता रामचन्द्र पौडेल खेमाबाट चारजना आकांक्षी देखिएको अवस्थामा कोइरालाले आफूहरुमध्ये एक जना मात्र देउवाविरुद्ध उभिने बताएका हुन् ।
पौडेल खेमाबाट उनी स्वयम्, महामन्त्री कोइराला, नेता प्रकाशमान सिंह र शेखर कोइराला सभापतिका आकांक्षी छन् ।
सोमबार संसद भवनबाट बाहिरिने क्रममा पत्रकारहरुसँग कुरा गर्दै महामन्त्री कोइरालाले भने, ‘आउँदो महाधिवेशनमा नेतृत्व परिवर्तन गर्न आवश्यक छ । हामीबीच सल्लाह गरेर एकजना मात्र उम्मेद्वार तय गर्छौ । हामीले एउटा मात्र उम्मेद्वार नबनाए नत्र उही नेतृत्व (शेरबहादुर देउवा) आउँछ ।’
त्यस्तै कोइरालाले चार वर्षको अवधिमा सभापति देउवा र आफूले पार्टीलाई प्रभावकारी रुपमा सञ्चालन गर्न नसकेको स्वीकार गरे । कांग्रेसको १३औं महाधिवेशनबाट सभापतिमा देउवा र महामन्त्रीमा कोइराला निर्वाचित भएको मंगलबार चार वर्ष पूरा हुँदैछ ।
उनले सरकारले समेत दुई वर्षको अवधिमा असफल भएको जिकिर गरे । ‘सरकारले ठोस काम गर्न सकेन । प्रभावकारी योजना आएन । विपक्षीले पनि राम्रो काम गर्न सकेन । त्यसको जिम्मेवारी म पनि लिन्छु’, उनले भने ।
प्रतिक्रिया