८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

काँग्रेस आफैमा हार्ने पार्टी होइन, ‘काँग्रेसले काँग्रेसलाई हराएको होः’ पूर्वमन्त्री आचार्य



मायादेवी अनलाइन, चारनम्बर
नेपाली काँग्रेस कपिलवस्तुका सभापति सुरेन्द्रराज आचार्यले नेपाल शिक्षक संघ बलियो बने मात्र पार्टी बलियो हुने बताउनु भएको छ । शिक्षक भनेको मुलुकको सबैभन्दा शिक्षित वर्ग भएको हुँदा यस्ता वर्ग सम्मिलित संगठन सुदृढ भए मात्र काँग्रेस पार्टी बलियो हुने उहाँले बताउनुभयो । नेपाल शिक्षक संघ बाणगंगा नगरपालिका दोश्रो नगर प्रतिनिधि सभामा प्रमुख अतिथि रहनु भएका पूर्व मन्त्री आचार्यले अब शिक्षकहरु एकजुट भएर पार्टी र देश बनाउन लाग्नु पर्ने बताउनु भयो ।
शिक्षकका थुप्रै पेशागत समस्या भएको स्विकार गर्दै उहाँले शिक्षकका समस्या समाधान गर्न पार्टी तयार रहेको बताउनु भयो । अधिकांस समय सरकारको आलोचनामा खर्च गर्नुभएका उहाँले कम्युनिष्टले मुलुकमा अधिनायकबाद लादेको आरोप लगाउनु भयो ।
उहाँले भन्नुभयो,“ललिता निवास काण्डमा विष्णु पौडेललाई कारबाही नगरी आफ्नो पार्टीका उपसभापति विजयकुमार गच्छदारलाई कारबाही गरिनुले वर्तमान सरकार कतिसम्म पूर्वाग्रही छ भन्ने कुरा प्रमाणित हुन्छ । यहाँ सिरानीमा लालपुर्जा राखेर सुत्नेलाई छुट छ । उनीहरुले जे गरे पनि कारबाही हुँदैन ।” उहाँले नेकपा महासिचव विष्णु पौडेललाई महाभ्रष्टाचारीको संज्ञा दिनुभयो ।
नेता आचार्यले मुलुक भ्रष्टाचारको चंगुलमा कतिसम्म डुबेको रहेछ भन्ने कुरा निर्वतमान संचारमन्त्री गोकुल बास्कोटा काण्डबाट उदांगो भएको बताउनु भयो । कम्युनिष्टहरु कहिल्यै पनि एकजुट हुन सक्दैन्न भन्ने कुराको प्रमाण खोज्न कहिँ नडुलेर नेपालको परिवेश हेरे पुग्ने उहाँको जिकिर छ ।
उहाँले ओली–दाहाल नामक कम्युनिष्ट पार्टी फेरि फुट्ने दावी गर्नुभयो । नेता आचार्यले कपिलवस्तुबाट कृषिमन्त्री बन्नुभएका चन्द्र प्रकाश खनाल बलदेवको पनि कडा आलोचना गर्नुभयो । उहाँले माछाको पोखरी नभएका मान्छेलाई माछा जोनको अध्यक्ष बनाएको लगायतका आरोपहरु लगाउँदै बलदेवले जिल्लाका किसानलाई केही दिन नसकेको बताउनु भयो ।
मुलुकलाई सवृद्ध बनाउने एक मात्र पार्टी काँग्रेस रहेको भन्दै उहाँले काग्रेश अब गुटउपगुट त्यागेर सच्चिनु पर्ने आवश्यकता रहेको बताउनु भयो । विगतको चुनावमा काँग्रेस पराजित हुनुका कारण आन्तरिक गुटबन्दी रहेको स्मरण गर्दै उहाँले काँग्रेस आफै हारेको नभएर काँग्रेशलाई काँग्रेसले हराएको बताउनु भयो ।
कम्युनिष्टहरु दिनप्रतिदिन पतनको दिसामामा गइरहेकाले अब काँग्रेसले हिजोको कमजोरीलाई दोहोर्याउन नहुनेतर्फ सबैलाई सचेत गराउनुभयो । काँग्रेशबाट चुनाव जितेर बिभिन्न पदमा पुगेकाहरु अहिले कांग्रेसका कार्यक्रममा सहभागी नहुनु दुखद भएको भन्दै त्यस्ता जनप्रतिनिधि र अन्य ब्यक्तिमाथि आफुले स्पष्टिकरण सोध्ने उहाँको भनाई छ ।
कार्यक्रममा नेपाल शिक्षक संघ प्रदेश ५ का महासचिव कृष्ण पंगेनी, उप महासचिव सिर्जना पंडित, जिल्ला शिक्षक संघकी अध्यक्ष दिना सुवेदी लगायतले बोल्दै शिक्षक संगठन बलियो ढंगले प्रस्तुत भए मात्र पार्टी सुदृढ हुने बताएका थिए ।
शिक्षकका केयौँ समस्या भए पनि राज्यले वेवास्ता गरेकाले संगठन अब चुप लागेर बस्न नहुने उनीहरुले बताए । महासचिव पंगेनीले शिक्षक संघ प्रदेश ५ को भेला कपिलवस्तुमा गर्न लागिएको जानकारी दिनुभयो ।
संघका नगर अध्यक्ष कुलराज पौडेलको अध्यक्षता, सचिव राम प्रसाद भण्डारीको संचालन, शिक्षक चनद्रकान्त पोख्रेलको स्वागतमा सम्पन्न कार्यक्रममा सघका जिल्ला अध्यक्ष अफाक अहमद खाँ, संघका प्रदेश सदस्य गोविन्द पोख्रेल, पूर्व अध्यक्ष नन्दकिशोर शुक्ला, तरुण दल जिल्ला अध्यक्ष शक्ति सिँह ठकुरी, युवा नेता चन्द्रकान्त पोख्रेल लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा लामोसमयसम्म शिक्षण गरी अवकास प्राप्त गर्नु भएका रेडियो मायादेवीका संचालक सदस्य कृष्ण कार्की लगायतलाई पनि सम्मान गरिएको छ ।

प्रकाशित मिति : ११ फाल्गुन २०७६ आइतबार ००:००  ६ : ४४ बजे