८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

पश्चिम कपिलवस्तुमा केराउको तस्करी, स्थानीय प्रशासन मौन !



मायादेवी अनलाइन, विजयनगर ।
कपिलवस्तुमा केराउ तस्करी विगत केही महिना देखि बढ्दै गएको छ । नेपालबाट दिनहुँ तस्करहरुले सयौँ क्युन्टल केराउको दाल अवैद्य रुपमा लुकीछिपी, चोरी निकासी गरी भारतमा बिक्री गर्न लैजाने गरेको खुल्न आएको छ । तस्करहरुले साइकल, मोटरसाइकल र अटो रिक्सामा बोकेर ल्याउने गरेका स्थानीयवासीले बताएका छन् ।
तस्करले केराउ कृष्णनगर नगरपालिका र विजयनगर गाउँपालिका हुँदै भारततर्फ लैजाने गरेका छन् । कृष्णनगर र विजयनगरको सिमाना भारतसँग जोडिएको र खुल्ला सिमाना भएकोले तस्करहरुलाई चोरी निकासी गर्न सहज भएको छ ।
विगत केही महिनादेखि केराउको दाल महँगो भएपछि तस्करहरुले मौका छोपी चोरी निकासीमा संलग्न भएको तथ्य बाहिर आएको हो । प्रति किलो रु. ६५ पर्ने र भारतमा ८० रुपियाँमा विक्री भएकोले नेपालमै सस्तो पर्ने हुनाले आजभोली नेपालको केराउ ल्याई बेच्दै गरेको बढ्नीका एक जना व्यापारीले नाम नबताउने सर्तमा खुलासा गरेका छन् ।
यता अटो चालकले एक पटकमा ७ सय देखि १ हजार रुपियाँसम्म थोरै समयमा पाउने भएकोले आजभोली यात्रुहरु बोक्नु भन्दा यसैमा बढी आम्दनी भएकोले केराउ दाल ओसारपोसारमा लागेको जानकारी दिँदै नाम गोप्य राख्न अनुरोध गरे । गाउँघरमा छप्छाप्ती रुपमा देखिएका अटोहरु साँझ परेपछि केराउ दाल ओसारपोसारमा व्यस्त भएकाले विरामी परेको बेलामा पनि अटो पाउन गाह्रो हुन थालेको गुगौलीका एक स्थानीयले बताए ।
विजयनगर गाउँपालिका हुँदै गिद्धदहवाघाट, कृष्णनगर लगायत तस्करहरुलाई पायक पर्ने ठाउँबाट भारत निर्यात गरिरहेका छन् । सशस्त्र बेस क्याम्प डालपुर र ईलाका प्रहरी गणेशपुरको मातहतमा रहेको प्रहरी चौकी ठकुरापुर नजिकैबाट तस्करी हुँदै मुख दर्शक भएर मौन बसेको स्थानीयवासीहरुले गुनासो पोखेको छन् । यता ईलाका प्रहरी कार्यालय गणेशपुरका प्रमुख मधु नेपाललाई सम्पर्क गर्दा आजै थाहा पाएको जानकारी बताए । महिनौ वित्दा पनि प्रहरीलाई थाहै नहुनै कुरामा प्रहरीको निगरानीमा कमजोरी रहेको प्रष्ट हुन जान्छ ।

प्रकाशित मिति : २७ माघ २०७६ सोमबार ००:००  ५ : २२ बजे