मायादेवी अनलाइन, कपिलवस्तु ।
बाणगंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सापकोटाको आकस्मिक सरुवा भएको छ । गत असोज २७ गते नगरमा हाजिर हुनुभएका सापकोटाको ३ महिना नवित्दै सरुवा भएको हो । रुपन्देहीको तिलोत्तमा नगरपालिकाबाट बाणगंगामा आउनु भएका सापकोटाको प्रधानमन्त्री कार्यालयमा सरुवा भएको जनाइएको छ । उहाँको यो आकस्मिक सरुवाको कारण भने थाहा छैन । कर्मचारी समायोजनमा उहाँको पहिलेदेखिको चाहाना संघिय मन्त्रालयमा रहेका कारण त्यसै अनुसार सरुवा भएको अनुमान गरिएको छ । उहाँ नगरमा आएपछि म सफा गर्छ मेरो नगर अभियानमा सरसफाइ प्रवद्धन जोडेर महिनामा २ दिन सरसफाइ गर्ने अभियान चलाउनु भएको थियो । यस्तै नगरपालिकामा डिजिटल सूचना पाटीको सुरुवात पनि उहाँको यही छोटो कार्यकालमा भएको थियो ।
यसैबीच नगरपालिकाले आजै सापकोटालाई विदाई गरेको छ । नगरपालिकामा एक कार्यक्रम आयोजना गरी उहाँलाई बिदाई गरिएको हो । नगर प्रमुख मंगल प्रसाद थारु, उपप्रमुख चक्रपाणी अर्याल, उपसचिव बाबुराम भट्टराई,वडाध्यक्षहरु र कर्मचारीको सहभागितामा उहाँको विदाई गरियो । विदाईका क्रममा सापकोटाले यो छोटो अवधिमा बाणगंगाबाट धेरै कुरा सिक्न पाएको बताउनु भयो । बाणगंगामा धेरै काम गर्ने रहर हुँदा हुँदै पनि गर्न नपाएको बताउँदै आफूले अब संघबाट भए पनि नगरलाई सहयोग गर्ने बताउनु भएको छ । नगर प्रमुख थारुले पनि यो छोटो अवधि पनि उहाँको स्मरणिय रहेको भन्दै प्रसंसा गर्नुभयो । सापकोटा काममा दत्त चित्त,जनउत्तरदायी,समयको परिपालक र खरो स्वभावका कारण केही जनप्रतिनिधि र कर्मचारीलाई मन परेको थिएन । यता सापकोटाले भने कार्यअवधिभर आफूलाई सबैबाट साथ भएको बताउनु भएको छ ।
अब बाणगंगामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा कसको उपस्थिति रहने हो त्यो भने एकिन छैन । तर विशेष श्रोतका अनुसार रुपन्देहीको कुनै स्थानीय तहबाट नयाँ कार्यकारी आउने हल्ला छ । विशेष श्रोतका अनुसार सैनामैना नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत आउनु हुने जनाइएको छ । यसबारे नगरपालिकाले भने आफूहरुलाई केही थाहा नभएको जनाएको छ । नगर प्रमुख थारुले नगरमा छिटै नयाँ कार्यकारी आउने बताउनु भयो । यता जानकारहरु छिटोछिटो हुने कर्मचारी सरुवाको कारण नगरमा विकासको काम प्रभावित हुने बताउँछन् ।
२३ पुस २०७६ बुधबार ००:००
0
Shares
प्रतिक्रिया