मायादेवी अनलाइन, कपिलवस्तु ।
प्रदेश पाँचका सांसद विष्णु पन्थीकी पत्नी अनुपमा पन्थीले मानवीय कार्यका साथ आफ्नो जन्मोत्सव मनाउनु भएको छ । बाणगंगा २ नन्दनगरमा रहेको श्री कैलाश आश्रम गुरुकुलमका ८० बटुकहरुलाई भण्डारा खुवाएर अनुपमाले आफ्नो ४२ औँ जन्मोत्सव मनाउनु भएको हो । उहाँ सांसद पन्थी, वाणगंगा २ वडाध्यक्ष विष्णु पौडेलका साथ गुरुकुलम्मा भण्डारा लगाउन पुग्नु भएको थियो । समाजमा जन्मोसव मनाउने खर्चिलो परम्पराले समाजमा विकृति सृजना गरेको भन्दै त्यसलाई कम गर्ने सन्देश दिन बटुकहरुलाई सहयोग गरेको अनुपमाले बताउनु भयो । आफ्नो भण्डाराले बालबालिकाको शिक्षादिक्षा र खानपानमा सहयोग पुग्ने बताउँदै भावी दिनमा पनि सहयोग गर्ने उहाँले वचन दिनुभएको छ । उहाँका पति तथा सांसद पन्थीले पत्नीको जन्मोत्सव मनाउने तरिकाबाट आफू खुसी भएको भन्दै शुभकामनासहित धन्यबाद दिनुभयो । एक दिनको भण्डाराले तात्विक रुपमा त्यति ठुलो भिन्नता नराखे पनि यसको सन्देश अति नै राम्रो भएको भन्दै पन्थीले श्रीमतिको कामको प्रसंसा गर्नुभयो । गुरुकुलमले विद्यार्थीहरुलाई चरित्रवान् र नीति बनाउन भूमिका खेलेको भन्दै गुरुकुलम्का अध्यक्ष, प्रधानाध्यापक, गुरुहरु सबैलाई धन्यबाद दिँदै प्रदेशबाट गुरुकुलमलाई बजेट उपलब्ध गराउने उहाँको भनाई छ । वडाध्यक्ष पौडेलले पन्थी अनुपमाले जन्मोत्सवमा राम्रो मानवीय कार्य गरेकामो बधाई र शुभकामना दिनुभयो । समाजका सचेत ब्यक्तिबाट नै परिवर्तनको सुरु गर्नु पर्ने भन्दै सांसद पत्नी पन्थीको यो नयाँ सुरुवात भएको पौडेलले बताउनु भयो । उहाँले पनि नगरले गुरुकुलमको विकासमा सदैव सहयोग गर्ने बताउनु भयो । कार्यक्रममा गुरुकुलमका अध्यक्ष, प्रधानाध्यापक लगायतको सहभागिता थियो । गुरुकुलम्ले भण्डारा गराए बापत् पन्थीलाई गुरुकुलम्ले प्रसंसा पत्र पनि दिएको थियो ।
प्रतिक्रिया