८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

मलेसियामा नेपाल भ्रमण वर्ष २०२० को उद्घाटन



मलेसिया ।
मलेसियामा ‘नेपाल भ्रमण वर्ष २०२०’को उद्घाटन भएको छ । मलेसियामा रहेको नेपाली दूतावासले मंगलबार मलेसियाका पर्यटन, कला तथा संस्कृति मन्त्री मोहमद्दिन विन केतापीको प्रमुख आतिथ्यमा भ्रमण वर्षको उद्घाटन गरेको हो । मलेसियाका पर्यटनमन्त्री केतापीले नेपाल भ्रमण वर्ष २०२० को सफलताको शुभकामना दिँदै विश्वका धेरै पर्यटकको रोजाइमा नेपाल रहने विश्वास व्यक्त गर्नुभयो ।
साथै पर्यटनको विकासको लागि उत्पादकत्व, प्रचार(प्रसार, बजार रणनीति, मानव श्रोतको विकास र नयाँ प्रविधिको प्रयोग अभिवृद्धि सबैले गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै मलेसियाका लागि नेपालका राजदूत उदयराज पाण्डेले नेपालको विकासमा पर्यटन क्षेत्रले खेलेको भूमिका, नेपालमा पर्यटन क्षेत्रमा रहेका अवसरहरु, नेपाल र मलेसियाबीचमा पर्यटन प्रवर्द्धनको क्षेत्रमा हुनुपर्ने साझेदारीको विषयमा प्रकाश पार्नुभयो ।

उहाँले सम्पूर्ण मलेसियाली नागरिक तथा विदेशीहरुलाई नेपाल भ्रमणको निमन्त्रणा दिनुभयो ।
कार्यक्रममा मलेसियाको परराष्ट्र मन्त्रालय लगायतका सरकारी कार्यालयहरु, पर्यटन प्रवर्द्धनसँग सम्बन्धित सरकारी तथा गैर सरकारी निकायहरु, मलेसिया र नेपालबीच हवाइसेवा सञ्चालन गर्ने कम्पनीहरु तथा ट्राभल्स एजेन्सीहरु, होटल, उद्योगी तथा व्यापारिक लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २२ पुस २०७६ मंगलबार ००:००  ७ : १५ बजे