८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

गहनाको लोभमा गुल्मीमा बुहारीद्धारा सासुको हत्या



बुटवल ।
गुल्मीमा गहना लुट्न दुई बुहारी मिलेर सासुको हत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार इस्मा गाउँपालिका–३ दर्लामचौर तल्लो सिम्पानीका दुई बुहारीले ७६ वर्षीय सासु कौशिला बिकको हत्या गरेका हुन् ।
कौशिलाकी कान्छी बुहारी २३ वर्षीय देवी बिक र जेठाजुकी बुहारी २८ वर्षीय लक्ष्मी बिकले गहना लुट्न हत्या गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका डिएसपी मिन घलेले बताए । उनीहरूले १७ पुसको साँझ कौशिलालाई कुटपिट गरी सख्त घाइते बनाएका थिए । त्यसपछि गोठमा लगेर गोरुले हानेको भन्दै छिमेकीसँग गुहार मागेका थिए । कौशिलाका श्रीमान शेर बहादुर बिकले कर्तव्य ज्यानसम्बन्धी जाहेरी दिएपछि आरोपितको बयानको आधारमा हत्या रहस्य पत्ता लागेको प्रहरीले जनाएको छ ।
लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारकै क्रममा २० पुसमा कौशिलाको मृत्यु भएको डिएसपी घलेले जानकारी दिए । स्थानीयका अनुसार दुई बुहारी र सासुबीच त्यसअघि पनि कैयौँ पटक विवाद भएर प्रहरीमा उजुरी परेका थिए ।
१७ पुसमा कौशिलाका श्रीमान मासु काट्न गएको समयमा उनीहरूले सासुलाई कुटेर गहना लुट्ने र गोरूले हानेको भनेर गुहार माग्ने योजना बनाएका थिए । उनीहरूले योजनाअनुसार चिर्पटले हानेर सासुलाई घाईते बनाए र गोरूले हानेको भन्दै गाउँलेसँग गुहार मागे ।
उनीहरूले प्रहरीसामु बताएको विवरण अनुसार लक्ष्मीले गोरु फुकाएर चिर्पट दाउरो लिएर लुकिन् । देवीले सासुलाई बोलाइन । सासु गोरु फुकेको देखेर बाँध्न गोठमा गइन् ।
त्यही बेला लक्ष्मीले सासुलाई दाउराले कन्चटमा हानिन्, सासु अचेत भइन् । त्यसपछि नाक र कानको गहना निकालेर मलखातमा गाडे ।
१७ गते अबेर गाउँले मिलेर बिकलाई उपचारको लागि पाल्पा लगे । टाउकोको अप्रेशन पैसा नभएपछि फर्काएर परिवारले सदरमुकाम तम्घास लगे । तम्घासमै आफन्तले पैसा खोजेर लुम्बिनी प्रादेशिक अस्पताल बुटवल लगेपनि कौशिला बचिनन् । २० पुसमा कौशिलाको मृत्यु भयो । २१ गते गुल्मी अस्पतालमा शवको पोस्टमार्टम भयो । परिवारले स्थानीय घाटमा दाहसंस्कार गरे । प्रहरीले थप अनुसन्धानका लागि दुवै बुहारीलाई नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : २२ पुस २०७६ मंगलबार ००:००  ६ : ३३ बजे