८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

पश्चिम नवलपरासीमा भ्रमण वर्षको रौनकः बुद्धस्थलहरु मुख्य प्राथमिकतामा



नवलपरासी ।
बीस लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० सफल बनाउन पश्चिम नवलपरासीमा जिल्लादेखि स्थानीय तहसम्म विभिन्न योजना अघि सारिएको छ ।
बढीभन्दा बढी पर्यटक आकर्षण गर्ने गरी यहाँका सरोकारवालाहरुले भ्रमण वर्ष लक्षित योजनाहरु सञ्चालनका लागि अग्रसरता देखाएका छन् । भ्रमण वर्षको शुभारम्भसँगै जिल्लामा भ्रमण वर्षको रौनक बढेको छ । यहाँका धार्मिक तथा पर्यटकीयस्थलहरुमा पर्यटकीय गतिविधि बढ्नाका साथै आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल पनि बढ्दैछ ।
नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्ला ऐतिहासिक, धार्मिक तथा पुरातात्विक हिसाबले महत्वपूर्ण र धनी जिल्ला हुनाका साथै पहाड र मधेशको मिश्रण अनि थारू, मगर, गुरुङलगायतका आदिवासी जनजातिहरुको विविध सांस्कृतिक पहिचान पनि जिल्लाको आकर्षण भएकाले यसको प्रचारप्रसार र प्रवद्र्धन गरी पर्यटक आकर्षण गर्न सकिने सरोकार पक्षको विश्वास छ ।
जिल्लामा रहेका पर्यटकीय गन्तव्यहरुको विकास र प्रवद्र्धन गर्दै नयाँ पर्यटकीय गन्तव्यको समेत पहिचान गरी बढीभन्दा बढी पर्यटक भित्र्याउने लक्ष्यका साथ योजनाबद्ध रूपमा पश्चिम नवसलपरासीमा भ्रमण वर्षका कार्यक्रम शुरु गरिएको जिल्लास्तरीय पर्यटन प्रवद्र्धन समितिका अध्यक्ष एवं जिल्ला समन्वय समितिका प्रमुख शिवशङ्कर रायले जानकारी दिनुभयो ।
भ्रमण वर्ष सफल बनाउन जिल्ला समन्वय समितिका प्रमुखको अध्यक्षतामा २१ सदस्यीय जिल्लास्तरीय र स्थानीय तहका प्रमुख÷अध्यक्षहरुको अध्यक्षतामा ११ सदस्यीय पालिकास्तरीय पर्यटन प्रवद्र्धन समिति गठन गरिएको छ । जिल्लास्तरीय समितिले भ्रमण वर्ष सफल पार्न जिल्लाका प्रमुख धार्मिक तथा पर्यटकीयस्थलहरुमा विभिन्न प्रवद्र्धनात्मक कार्यक्रम गरी लाखौँ पर्यटक भित्र्याउने गरी योजना बनाएर काम शुरु गरेको समितिका जिल्ला अध्यक्ष रायको भनाइ छ ।
रामग्राम स्तूप, पण्डितपुर, देवदह ताल तरगौली, महलपोखरी, बाबा बर्दगोरिया, कोलवृक्ष, बुद्धमङ्गल ताल, संसारकोट, पाल्ही भगवती मन्दिर, अनोमाघाट, चुहाडीलगायतका धार्मिक तथा पर्यटकीयस्थलहरुलाई प्रमुख गन्तव्यका रूपमा छनोट गरिएको छ । पर्यटकलाई आकर्षित गर्न भुमहीदेखि उत्तरतर्फको जङ्गल र बुद्धशान्ति साझेदारी वनमा जङ्गल सफारीका लागि सम्भाव्यता अध्ययन भइरहेको उनले बताउनुभयो । रासस

प्रकाशित मिति : २१ पुस २०७६ सोमबार ००:००  ६ : ४४ बजे