दाङ । राष्ट्रियसभा सदस्य निर्वाचनमा नेकपाको जित निश्चित देखिएको छ । आगामी माघ ९ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि प्रदेश ५ बाट ४ राजनितिक दलका ९ जना उम्मेदवारी दिएका छन्। तिमध्ये प्रदेश ५ बाट ३ जना निर्वा्चित हुने छन्। प्रदेशसभा सदस्य ८७ र स्थानीय तहका प्रमुख ÷ उपप्रमखु गरी २१८ जना रहेका छन्। हरेक प्रदेश सदस्यको मतभार ४८ र स्थानीय तहका प्रमुख र उपप्रमुखको मतभार १८ हुने व्यवस्था छ। प्रदेश ५ मा स्थानीय तहका प्रमुखर उपप्रमुख गरी नेकपाका १२८ मतदाताको मतभार २३०४ हुनेछ। त्यस्तै प्रदेशसभा सदस्यमा नेकपाका ६१ मतदाता छन्, जसको मतभार २९२८ हुनेछ। दुवैतर्फ गरी नेकपाको कुल मतभार ५२३२ हुनेछ।
त्यस्तै नेपाली कांग्रेसको स्थानीय तहमा ६८ मतदाता छन्। जसको मतभार १२२४ हुनेछ, भने प्रदेशसभातर्फ १९ मतदाता रहेका छन् । जसको मतभार ९१२ हुनेछ। यसरी यो प्रदेशमा कांग्रेसको कुल मतभार २१३६ हुने छ। समाजवादी पार्टीको स्थानीय तहका १२ मतदाता छन् । जसको मतभार २१६ र प्रदेशसभाका ४ मतदाताको १९२ गरी कूल ४०८ मतभार हुने छ। यसरी हेर्दा कुनै मतदाताले दायाँबायाँ नगरेको अवस्थामा राष्ट्रियसभा सदस्य निर्वाचनमा कूल मतभार ८१०० मध्येमा प्रदेश ५ मा (नेकपा)ले ५२३२, कांग्रेसले २१३६ र समाजवादीले ४०८ मतभार प्राप्त गर्ने छन् । यसरी प्रमुख दलको मतभार ७७७६ हुनेछ भने राजमो, राजपालगायतको ३२४ मतभार हुनेछ। राष्ट्रियसभा सदस्य निर्वाचन एकल संक्रमणीय प्रणालीबाटै हुने संवैधानिक व्यवस्था भए पनि हरेक एक पदका लागि मात्रै प्रतिष्पर्धा हुने हुँदा पहिलो हुनेले नै यसमा जित्ने छ। यसमा बाँकी रहेको मत अर्को दललाई संक्रमण हुने यस अघिको प्रणाली व्यवहारतः लागु हुने छैन। त्यसैले यो प्रदेशबाट नेकपाको तर्फबाट उम्मेदवारी दिएका जगप्रसाद शर्मा ‘अपार’, गोपाल भट्टराई र बिमला घिमिरेको सहज जित देखिएको छ।
उम्मेदवारी दिनेमा सत्ता पक्ष नेपाल कम्युनिष्ट पार्टी (नेकपा), प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस, समाजवादी पार्टी र राष्ट्रिय जनमोचा रहेका छन्। (नेकपा)को तर्फबाट दाङका जगप्रसाद शर्मा, रुपन्देहीबाट गोपाल भटराई र कपिलवस्तुबाट विमला घिमिरेले राष्ट्रियसभा सदस्य पदका लागि उम्मेदवारी दर्ता गराएका छन्। नेपाली कांग्रेसबाट दाङकी गिरिजादेवी न्यौपाने, अर्घाखाँचीका बालकृष्ण पाण्डे र बाँकेका मेराजअहमद हलवाईले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले बताए। त्यसैगरी, समाजवादी पार्टीका तर्फबाट बाँकेबाट सुनिल सिंघल र बर्दियाका कृष्णप्रसाद यादवले उम्मेदवारी दर्ता गराएका छन्। राष्ट्रिय जनमोर्चाका तर्फबाट कपिलवस्तुका शिव पौडेलले उम्मेदवारी दर्ता गराएका छन्। प्रदेश ५ बाट राष्ट्रियसभा सदस्य रहेका रोल्पाका राजकुमार कुँवर, मिना बुढा र रुपन्देहीका दुर्गाप्रसाद उपाध्यायको दुई वर्षे कार्यकाल सकिएपछि निर्वाचन हुन लागेको हो। कुँवर र बुढा (नेकपा) तथा उपाध्यय कांग्रेसको तर्फबाट निर्वा्चित भएका थिए। यो प्रदेशमा कुल ३०५ जना मतदाता रहेका छन्।
प्रतिक्रिया