काठमाण्डौ ।
तीव्र गतिका बलर जसप्रीत बुमराह चार महिनापछि श्रीलङ्काविरुद्धको टी–२० सिरिजका लागि भारतीय क्रिकेट टिममा फर्किएका छन् । उनी यसबाट निकै खुशी छन् ।
शनिबार उनले भने, ‘म चोटपछि दुःखी थिइनँ । मैले आफ्नो शारीरिक क्षमता बढाउने कोसिस गरेँ । मैले सुरुवातमा धेरै नै क्रिकेट खेलिरहेको थिएँ । यस्तो अवस्थामा कहिले काहीँ खेलको भोक बनाइ राख्न मुश्किल हुन्छ । त्यसपछि मलाई ब्रेक मिल्यो । सबै खेलाडीलाई चाँडै नै टिममा फर्किने चाहना हुन्छ । तर यो ध्यानमा राख्नुपर्छ कि अलि हतार त भएन ?’
मैदानबाहिर बस्नु आफ्नो लागि मुश्किल नभएको र आफूलाई कहिल्यै पनि क्रिकेटको कमी नभएको बुमराहले बताए ।
‘म सधैँ किन यस्तो भयो र कसरी फेरि मैदान फर्कन सक्छु भनेर सोचिरहन्थेँ । लगातार खेलिरहँदा पनि शारीरिक क्षमता कमजोर हुन्छ र फिटनेसको स्तर पनि कम हुन्छ । अहिले म धेरै टाढा होइन मात्र एक खेलको बारेमा सोचिरहेको छु’, उनले भने ।
प्रतिक्रिया