८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

दाङका प्रहरी प्रमुखविरूद्ध लाग्यो अवहेलना मुद्दा



दाङ ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक जनक भट्टराईविरूद्ध दाङ देउखुरी जिल्ला अदालतमा बिहीबार अदातलको अवहेलनासम्बन्धी मुद्दा दर्ता भएको छ ।
अदालतले धरौटीमा छोड्न भनेका विप्लवका चार जना नेतालाई अदालत परिसरभित्रै लछारपछार पार्दै पक्राउ गरेपछि उनीहरूका परिवारले प्रहरी प्रमुखविरूद्ध अदालतमा मुद्दा दर्ता गराएका हुन् ।
घोराही उपमहानगरपालिका वडा नं. १६ निवासी शिबा बोहरा, घोराही १७ निवासी छिमा पुन, तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ निवासी सीता ओली र लमही नगरपालिका वडा नं. ३ निवासी उमिरलाल चौधरीले प्रहरी प्रमुख भट्टराईविरूद्ध अदालतको अवहेलना मुद्दा दर्ता गराएका हुन् ।
मुद्दा हाल्नेहरू हाल प्रहरीको नियन्त्रणमा रहेका सरकारद्वारा प्रतिवन्धित विप्लव समूहका नेताहरू धनबहादुर बोहरा,तिलक पुन, कुलबहादुर ओली र एकराज चौधरीका परिवार हुन्।
यी चार नेताविरूद्ध अदालतले बुधबार मात्रै जनही १५ हजार धरौटीमा छोड्न आदेश दिएको थियो। तर, धरौटी बुझाउँदै गर्दा प्रहरीले मुद्दा दर्ता कक्षमै विप्लवका पक्राउ परेका नेता र परिवारका सदस्यहरूलाई लछारपछार पार्दै पुनः पक्राउ गरेको थियो ।
अदालतको आदेशपछि प्रहरीले उनीहरूलाई पुनः बलजफ्ती नियन्त्रणमा लिने क्रममा आफूहरूमाथि हातपात भएको तथा आफूहरूमाथि अमानवीय व्यवहार भएको छिमा पुन लगायतले गुनासो गरेका थिए । अदालतको अवहेलना गर्ने प्रहरीविरूद्ध एक वर्ष कैद र दस हजार रुपैयाँ जरिवाना माग गर्दै निवेदकहरूले निवेदन दर्ता गराएको अभिवक्ता निर्मल गौतमले जानकारी दिए ।
गत असोज ३० गते जिल्लाको राजपुर गाउँपालिकास्थित जंगलबाट नियन्त्रणमा आएका २१ जनामध्ये चार नेता बुधबार धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको थियो ।
यसअघि पनि जिल्ला अदालतले पुस ७ गते पक्राउ परेका २१ जनामध्ये विप्लका दाजु वीरजंगसहित सबैलाई जनही १५÷१५ हजार धरौटीमा रिहा गर्न आदेश दिएको थियो । तर उनीहरूलाई पनि प्रहरीले पुनः अदालत परिसरबाटै अरु छुट्टै मुद्दा लगाएर पक्राउ गर्ने तयारी गरेपछि उनीहरूका परिवारले धरौटी नै बुझाएका थिएनन् । त्यसैले उनीहरूलाई पुनः कारागार लगिएको थियो ।

प्रकाशित मिति : १९ पुस २०७६ शनिबार ००:००  ३ : १५ बजे