मायादेवी अनलाइन, तौलिहवा ।
जिल्लाको शुद्धोधन गाउँपालिकाले लोपउन्मुख तथा अल्पसंख्यक नेटुवा समुदायका बालबालिकालाई बिद्यालयमा नियमित गर्नका लागि मासिक भत्ताको व्यवस्था गर्ने शुद्धोधन गाउँपालिकाका अध्यक्ष निशार अहमद खाँले बताउनु भएको छ ।
भिक्षा मागेर जिविको पार्जन गर्दै आएका नेटुवा समुदायले बालबालिकाहरुलाई पनि माग्ने कार्यमा संलग्न गराउन थालेकोले बिद्यालयमा नियमित रुपमा उपस्थित भएर अध्ययन गर्ने नेटुवा सुमदायका बालबालिकाहरुलाई पालिकाले मासिक ५ सय रुपैया भत्ताको व्यवस्था गर्ने अध्यक्ष खाँले बताउनु भयो ।
बिहिबार नागरिक सहकार्य मञ्च र मधेश मानव अधिकार गृहको आयोजनामा शुद्धोधन गाउँपालिकाको लवनी सामुदायिक अध्ययन केन्द्रमा आयोजित नेटुवा समुदायसंग जन प्रतिनिधि कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो कुरा बताउनु भएको हो । यसै कार्यक्रममा बोल्दै गाउँपालिका वडा नं. २ वडा अध्यक्ष तथा सामाजिक विकास समितिका सभापति मनोज कुमार यादवले नेटुवा समुदायलाई लोपउन्मुख समुदायमा सूचिकृत गर्न नेपाल सरकारलाई पालिकाले एक बर्ष अगाडी नै सिफारिस गरिसकेको बताउनु भयो ।
उहाँले संघीय सरकारले पत्थरकट्टा लगायतका लोपउन्मुख समुदायलाई मासिक भत्ताको व्यवस्था गरेतापनि नेटुवालाई केही पनि नगरेकोले बिद्यालयमा नियमितताको लागि पालिकाले बालबालिकालाई मासिक भत्ताको व्यवस्था गर्ने बताउनु भएको छ ।
यसै गरि कार्यक्रममा बोल्दै अध्यक्ष खाँले नेटुवा समुदायका बालबालिकालाई उच्च शिक्षाको लागि पालिकाले सहयोग गर्ने बताउनु भयो कोही पनि नेटुवा समुदायका बालबालिकाले ओभसियर, अमिन पढ्न तयार भए ति बालबालिकाको सम्पुर्ण खर्च पालिकाले बेह्रोर्ने उहाँले बताउनु भयो ।
कार्यक्रममा आफ्नो गुनासो राख्दै नेटुवा समुदायकी लक्ष्मी नेटुवाले संघीय र प्रदेश सरकारले आफुहरुको आवाज नसुनेको गुनासो गर्नु भयो । उहाँले भन्नुभयो “सबैको जुठो खाएर, भिख मागेर, सर्प देखाएर जिविको पार्जन गर्दै हामीहरुले सरकारले कुनै व्यवस्था नगर्दा बालबालिकालाई पनि माग्ने काममा संलग्न गराउनु बाध्य भएको गुनासो गर्नुभयो ।
नटुवा समुदायका अगुवा राम समुज नेटुवाले नेटुवाका बालबालिकालाई शिक्षामा पहुँचका लागि गाउँपालिकाले बिशेष व्यवस्था गर्नु पर्ने माग गर्नुुु भयो । उहाँले धेरै नेटुवाहरुको घर नभएकाले सो को लागि पहल गरिन अनुरोध गर्नु भएको थियो । कार्यक्रममा एक दर्जन भन्दा धेरै नेटुवा समुदायका व्यक्तिहरुले समस्या र गुनासाहरु व्यक्त गरेका थिए ।
उनीहरुले सरकारले आफुहरु माथिल्लो समुदाय पत्थरकट्टा लगायतलाई लोपउन्मुख समुदायमा सूचिकृत गरि मासिक भत्ताको व्यवस्था गरेतापनि आफुहरुलाई सौतेलो व्यवहार गरेको आरोप लगाएका थिए ।
कपिलवस्तुको बिभिन्न पालिकामा गरी करिव ७० घर नेटुवा समुदाय रहेको नेटुवा समुदायका अध्यक्षता संन्जय पासी बताउनु हुन्छ । उहाँका अनुसार कपिलवस्तुको शुद्धोधन गाउँपालिका, मायादेवी गाउँपालिका, महाराजगंज नगरपालिका, यसोधरा गाउँपालिका, शिवराज नगरपालिका र कृष्णनगर नगरपालिकामा नेटुवा समुदायको बसोबास रहेको छ ।
पछिल्लो समयमा स्थाई रुपमा घर टहरा बनाएर यी पालिकाहरुमा बस्दै आएको यो समुदाय घुमन्ते समुदाय भएको र यस्लाई मूल प्रबाहीकरणमा ल्याउन सरकारले अन्य लोपउन्मुख समुदायलाई जस्तै मासिक भत्ताको व्यवस्था गर्नु पर्ने अधिकारकर्मी रवि ठाकुर बताउनु हुन्छ ।
१८ पुस २०७६ शुक्रबार ००:००
2
Shares
प्रतिक्रिया