काठमाडौँ ।
मंगलबार मात्रै उपप्रधान एवं कानुन, न्याय तथा संघीय मामिला मन्त्रीबाट राजीनामा दिएका समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रिय जनता पार्टी (राजपा) लाई सरकारमा गएर आत्मघाती काम नगर्न सुझाव दिएका छन्।
बुधबार पार्टीका तर्फबाट आयोजित पत्रकार सम्मेलनमा यादवले राजपा सरकारमा गएर आत्मघाती काम गर्ला भन्ने आफूलाई नलागेको बताए ।
‘समाजवादी पार्टी सरकारमा गयो। संविधान संशोधनका लागि प्रयत्न गर्यो’, उनले भने, ‘त्यसमाथि प्रधानमन्त्रीले मेरो प्रस्ताव अस्वीकार गरेसँगै उहाँले संविधान संशोधन गर्न चाहनुहुन्न भन्ने प्रष्ट भइसक्यो। अब त्यही एजेण्डा लिएर राजपा सरकारमा जानु भनेको आत्मघाती कदम हो। त्यसमा मलाई विश्वास छैन।’
यस्तै यादवले समाजवादी पार्टीले अब संविधान संशोधनका लागि संसद र जनसंघर्षको बाटो अपनाउने चेतावनी समेत दिएका छन्।
यसैगरि पूर्वप्रधानमन्त्री एवं समाजवादी पार्टीको संघीय परिषदका अध्यक्ष बाबुराम भट्टराईले अहिलेको संसदीय शासन प्रणालीमै खोट रहेको भन्दै त्यसमा सुधार हुने पर्ने बताए।
भट्टराईले भने, ‘संविधान संशोधन गरेर पहिचानमा आधारित प्रदेश र शासन प्रणालीमा सुधार हुनुपर्छ। त्यसको पक्षमा समाजवादी पार्टीले निरन्तर संघर्ष गर्छ।’
समाजवादी पार्टीको तर्फबाट सरकारमा रहेका उपप्रधान एवं कानुन, न्याय तथा संघीय मामिलामन्त्री उपेन्द्र यादव र शहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले मंगलबार पदबाट राजीनामा दिएका थिए।
सोमबारको मन्त्रिपरिषद बैठकमा यादवले संविधान संशोधनका लागि विज्ञ टोली गठन गर्नुपर्ने प्रस्ताव राखेका थिए। तर प्रधानमन्त्री केपी शर्मा ओलीले यादवको उक्त प्रस्ताव ठाडै अस्वीकार गरिदिएपछि यादव र राईले मंगलबार राजीनामा दिएका हुन्।
पछिल्लो समय प्रधानमन्त्री ओली र यादवबीचको सम्बन्ध चिसिएको थियो। मंसिर पहिलो साता गरिएको मन्त्रिमण्डल पुनर्गठनमा प्रधानमन्त्री ओलीले यादवलाई जानकारी नै नगराई अपमानजनक रुपमा स्वास्थ्य मन्त्रीबाट हटाएर कानुन मन्त्रालयको जिम्मेवारी दिएपछि उनीहरुको सम्बन्धमा चिसोपना आएको थियो। समाजवादी पार्टी त्यतिबेलै सरकारबाट बाहिरने अनुमान गरिएको थियो। तर मन्त्रिमण्डल गठनका क्रममा भारत भ्रमणमा रहेका यादव नेपाल फर्केर कानुन मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए। बुधबार समाजवादी पार्टीले पत्रकार सम्मेलन गरेर सरकारलाई दिएका समर्थन समेत फिर्ता लिएको छ।
प्रतिक्रिया