८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

आज ‘क्रिसमस डे’ मनाइँदै, ईसाई धर्मालम्वीलाई मात्र सरकारी विदा



मायादेवी अनलाइन, कपिलवस्तु ।
आज क्रिसमस डे । क्रिश्चियन धर्मका संस्थापक येशू ख्रीस्टको जन्म जयन्तीका अवसरमा देशभरका चर्चमा प्रार्थनालगायत कार्यक्रम गरी मनाइँदै छ । प्रत्येक वर्ष डिसेम्बर २५ तारिखका दिन यो दिवस विश्वभरका ईसाई धर्मालम्वीले मनाउने गरेका छन । विभिन्न प्राचीन यूरोपियन दस्तावेजका अनुसार क्राईस धर्तीमा आउनपूर्वनै पनि हिउँदको यो मध्य समयमा आगो र प्रकाशको चाड मनाइने कुरा उल्लेख छ । समयसंगै आजको दिनलाई क्रिसमसका रुपमा मनाउन थालिएको हो ।

इस्वि संवतका अनुसार हरेक वर्षको डिसेम्बर २५ लाई क्रिसमसका रुपमा मनाइन्छ भने केही देशहरुले डिसेम्बर २४ मा पनि मनाउने गर्दछन् । इस्वि सम्वतलाई क्राईसको जन्म अगाडी र एनोनो डोमिनी क्राईस पछाडी गरि दुई भागमा बाँडिएको छ । आज यसै उपलक्ष्यमा संसारभरिनै उपहारहरु साटासाट, क्रिसमस रुख सिङ्गार्दै, भोज आयोजना गरेर गिर्जा घरहरुमा गई क्रिसमस मनाइन्छ । नजिकै जङ्गल हुने समूदायमा घरका पुरुषहरु जङ्गल गएर ठूला रुखका मूडाहरु काटेर ल्याउने र आँङ्गनमा बालेर यो पर्व मनाउने गरिन्छ ।

दिवस मनाइएका स्थलमा येशूको शिक्षा एवं उपदेशको चर्चा गरिनुका साथै प्रेम प्रकट गर्दै उपहार आदानप्रदान गर्ने, शान्ति, सद्भाव, समृद्धि र सु–स्वास्थ्यको कामना गरिन्छ । क्रिसमसको ठूलो आकर्षण भनेको सान्टा क्लस हुन् । रातो टोपी लगाएका अनि सेतो दाह्री, जुङ्गा भएको मोटोघाटो ठूलो शरीरको साधुले सबैलाई उपहार दिने र खुशी बाँड्नेछन् भन्ने विश्वास छ । सान्टा क्लसको प्रतिक्षामा आज धेरै केटाकेटीहरु रातीअबेरसम्म सुत्दैनन् ।

कोही कोही ब्यक्तिहरु सान्टा क्लसको भेषमा उपहार र कोसेली बाँडदै, साँट्दै हिंड्दछन् । यस अवसरमा काठमाडौं उपत्यकाका र बाहिर ‘क्रिसमस ट्री’ बनाएर सजाइएको छ । आजका दिन मानिसले एक आपसमा क्रिसमस दिवसको शुभकामना आदान प्रदान गर्छन् । नेपालमा क्रिश्चियन इतिहास ४ सय वर्ष भन्दा पुरानो रहेको राष्ट्रिय ख्रीष्टियन महासंघले जनाएको छ । सरकारले आज ईसाई धर्मालम्वीलाई मात्र सरकारी विदा दिएको छ ।

प्रकाशित मिति : ९ पुस २०७६ बुधबार ००:००  ६ : २३ बजे