८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

आजबाट बुटवलमा औद्योगिक व्यापार मेला, रक्षा मन्त्री पोख्रेलले उद्घाटन गर्ने 



मायादेवी अनलाइन, कपिलवस्तु । 

बुटवलमा आज (बुधबार) बाट औद्योगिक व्यापार मेला सुरु हुँदै छ । बुटवल उद्योग बाणिज्य संघको आयोजनामा बुटवल उपमहानगरपालिका वडा नं. ११ देवीनगरमा सुरु हुने छ ।  मेलाको बुधबार नेपाल सरकारका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरलले विहान ११ बजे उद्घाटन गर्नुहुनेछ ।

अर्थतन्त्र सुधारका लागि औद्योगिक बिकास, रोजगारी प्रवद्र्धन तथा उद्यमशिलता बिकास गर्ने, त्यसकालागि कृषिमा आधुनिकिकरण, प्रविधिको प्रयोग र व्यबसायिक बिकास तथा पर्यटन पवद्र्धन गर्ने उद्देश्यले सहित २० औं संस्करणको औद्योगिक व्यापार मेला गर्न लागिएको संघका अध्यक्ष तथा मेला कार्यसम्पादन समितिका संयोजक खिमबहादुर हमालले जानकारी गराउनु भयो ।

‘लगानी लुम्बिनीमा, समृद्धि देशमा’ भन्ने मुल नाराका साथ यहि पुसको २३ गतेसम्म सञ्चालन गरिने मेलामा तराईदेखि हिमालसम्मका कृषि, गार्मेन्ट, होटल, इलेक्ट्रोनिक्स, प्रविधी तथा परामर्श, हस्तकला, अटो, महिला उद्यमी, पर्यटन लगायतका ५ सय स्टल सहभागि हुनेछन् । १५ दिनसम्म सञ्चालन गरिने मेलामा ५ लाख दर्शकले मेलाको प्रत्यक्ष अवलोकन गर्ने र मेलाभित्र १५ करोडको कारोवार हुने अपेक्षा गरिएको अध्यक्ष हमालले जानकारी गराउनु भयो ।

२०४१ सालमा उपत्यका बाहिर पहिलो पटक औद्योगिक व्यापार मेला गरेको बुटवल उद्योग बाणिज्य संघले ६६ वर्षको लामो संस्थागत यात्रामा १९ वटा मेला सम्पन्न गरिसकेको छ । विगतमा गरेका मेलाबाट सिकेका कुराहरुलाई परिस्कृत गरेर २० औं संस्करणको मेला सञ्चालनको तयारी गरिएको छ ।

उद्यमशीलता विकासको माध्यमबाट नयाँ औद्योगिक लगानी र व्यवसायिक क्षेत्रहरुको खोजी गरी रोजगारीका अवसरहरु सृजना गर्न, नेपाल भ्रमण बर्ष २०२० को पुर्वसन्ध्यामा यस क्षेत्रको पर्यटन सम्बन्धि गतिबिधि प्रवद्र्धन गर्ने अवसरको रुपमा समेत मेलालाई लिइएकोछ ।

मेलालाई आकर्षण बढाउनका लागि यस क्षेत्रका पर्यटकीय स्थलहरु समेटिएको सेल्फी जोन निर्माण गरिएको छ भने पानीबाट चल्ने गाडी, हुन्डाई गाडीको सिमुलेसन सहितको प्रबिधि मेलामा राखिने छ । त्यस्तै यस क्षेत्रको ऐतिहासिक जीतगढी किल्ला आकृतिमा प्रवेशद्वार, संघको सचिवालय आकृतिमा मेला सचिवालय निर्माण गरिएको छ । त्यसैगरी नेपाली कला, सस्कृति, भेषभुषा संरक्षणका लागि विभिन्न सास्कृतिक प्रतियोगिताहरु एवं झाकीं प्रदर्शन गरिने छ । मेलाको आकर्षणको रुपमा सुरुको पाँच दिनसम्म ईन्द्रणी समाजको दोहोरी कार्यक्रम सञ्चालन हुनेछ भने यस क्षेत्रमै पहिलो पटक रत्यौली प्रतियोगिता सञ्चालन गरिने संघले जनाएको छ ।

प्रकाशित मिति : ९ पुस २०७६ बुधबार ००:००  ६ : ०७ बजे