एजेन्सी ।
केन्द्रमा सत्तामा रहेको अधिकांश राज्यमा पनि सत्ता सञ्चालन गरिरहेको भारतीय जनता पार्टी (भाजपा) ले महत्वपूर्ण राज्यबाट सत्ता गुमाएको छ ।
गएको शुक्रबार सम्पन्न भएको झारखण्ड विधानसभा चुनावको मतदानपछि सोमबार मतगणना भयो । पाँच चरणमा भएको चुनावी अभियानको क्रममा ४४ सिटसहित सत्तामा रहेको भाजपाले यसपटक ६५ भन्दा बढी सिट जित्ने दाबी गरेको थियो ।
तर ८१ सिटको विधानसभामा भाजपाले यो पटक मात्रै २५ सिटमा जित हाँसिल गरेको छ । अर्थात उसले चुनावी अभियानमा भनेको आँकडाबाट आधा भन्दा पनि कम र अघिल्लो चुनावमा जितेको भन्दा १९ सिट कम जितेको छ ।
पाँच वर्ष राज्यमा शासन चलाएको भाजपा अब सत्ताबाट बाहिरिएको छ । अब राज्यको सत्तामा कांग्रेस–जेएमएम–राजद गठबन्धन आउने भएको छ । सो गठबन्धनले ४७ सिट जितेको छ र बहुमतका लागि ४१ सिट भए पुग्छ । अन्य पार्टी र स्वतन्त्रका गरी ९ विधायक यो चुनावबाट विजयी भएका छन् ।
पाँच वर्ष झारखण्डमा मुख्यमन्त्रीको कार्यकाल पूरा गर्ने इतिहास बनाएका भाजपाका रघुबर दास आफै पराजित भए र उनले पदबाट राजीनामा पनि दिइसकेका छन् ।
झारखण्ड मुक्ति मोर्चा, कांग्रेस र राष्ट्रिय जनता दलको गठबन्धनबाट हेमन्त सोरेन अब झारखण्डको मुख्यमन्त्री बन्ने छन् ।
भाजपाले यो एक वर्षको अवधिमा पाँच राज्यमा हारको सामना गर्नु परेको छ । तर यी पाँच राज्यमा उसको सिट तथा भोट प्रतिशतमा खासै कमी भने आएको छैन ।
८ पुस २०७६ मंगलबार ००:००
0
Shares
प्रतिक्रिया