८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

सिद्धार्थ क्याम्पस क्यूएए प्रक्रियाको अन्तिममा



मायादेवी अनलाइन, वाणगंगा ।
सिद्धार्थ क्याम्पस बाणगंगा बुङ्ची कपिलवस्तुमा विश्व विद्यालय अनुदान आयोगको टोली सोमबार आएको छ । अन्तर्राष्ट्रिय शैक्षिक गुणस्तर (क्यूएए) प्रकृयामा रहेको क्याम्पसलाई क्युएए प्रदान गर्ने शिलशिलामा अन्तिम चरणको भ्रमणमा टोली आएको हो । टोलीलाई क्याम्पसमा भब्य स्वागत गरिएको छ ।
प्रा.डा. तथा पिआरटी संयोजक जयराज अवस्थी, प्रा.डा. रत्नमाला आर्या, प्रा.डा. मिना विद्या मल्ल, प्रा.डा. कमलदीप ढकाल र सदस्य ममता प्रजापतिसहितको ५ जनाको टोलीलाई भव्य स्वागत गरिएको हो । क्याम्पस संचालक समिति, क्याम्पस प्रमुख, सम्पूर्ण प्राध्यापक, स्वतन्त्र विद्यार्थी यूनियन, भूतपूर्व विद्यार्थी यूनियन तथा बिभिन्न विद्यालयका प्रमुख तथा प्रतिनिधिले उहाँहरुलाई फूलमालाले स्वागत गर्नुभएको छ ।
स्वागत पछि आयोजित औपचारिक कार्यक्रममा बोल्ने वक्ताहरुले सिद्धार्थ क्याम्पस २८ बर्षको अवधिपछि ठुलो सफलताको शिखरमा पुगेको बताएका छन् । पूर्वकृषि मन्त्री तथा प्रतिनिधिसभा सदस्य चक्रपाणी खनाल बलदेवले क्याम्पसले प्राप्त गर्न लागेको सफलताले आफूहरुलाई गर्वको महशुस भएको बताउनु भयो । उहाँले आफूहरुको मुल्यांकनमा क्याम्पस यस क्षेत्रमा मात्र नभएर प्रदेशमै उत्कृष्ट रहेकाले क्यूएए पाउनेमा आशाबादी रहेको बताउनु भयो ।
क्याम्पसमा रहेका चुनौती र अपुग भएका कुरामा आफ्नो तर्फबाट पूर्ण साथ रहने भन्दै सफलताको शुभकामना ब्यक्त गर्नुभयो । प्रदेश सांसद विष्णु पन्थीले २८ बर्षको इतिहासमा क्याम्पसको यो ठुलो उपलब्धि रहेको बताउँदै क्याम्पसले ठुलो फड्को मार्न लागेको बताउनु भयो । मुलुकका विरलै क्याम्पसहरुले पाउने अन्तर्राष्ट्रिय गुणस्तर प्राप्त गर्न निकै नजिक रहेको क्याम्पसलाई विश्वविद्यालय टोलीले उच्च मुल्यांकन गरेर सर्टिफिकेट दिनेमा आफू विश्वस्त रहेको बताउनु भयो । उहाँले बजेट अभावमा सिद्धार्थ क्याम्पसका कुनै भौतिक पूर्वाधार नरोकिने बताउँदै २८ बर्षमा गरेको भन्दा बढी उपलब्धि अबको तिन बर्षमा हासिल गराउने गरी प्रदेशले सहयोग गर्ने बताउनु भयो । सांसद पन्थीले अब क्याम्पसमा अत्याधुनिक वातानूकुलित ५ तले भवन निर्माणका लागि डिपिआर तयार भएको भन्दै क्यूएए दिदा कुनै फरक नहुने बताउनुभयो ।
बाणगंगा नगरपालिकाका नगर प्रमुख मंगलप्रसाद थारुले विश्व विद्यालयको टोलीलाई नगरमा स्वागत गर्दै आफूहरु निकै खुसी भएको बताउनु भयो । क्याम्पसको जनशक्ति मध्ये ५३ प्रतिशतभन्दा बढी बिभिन्न काम र रोजगारको शिलशिलामा रहेकाले क्याम्पसलाई क्यूएए दिन कुनै आनाकानी गर्न आवश्यक रहेको बताउनु भयो ।
विश्व विद्यालय अनुदान आयोगका प्रा.डा. तथा पिआरटी संयोजक जयराज अवस्थीले क्याम्पसको लागि यो ठुलो मौका रहेको बताउनु भयो । आफूहरु अब ५ दिनसम्म क्याम्पसमा रहेर क्याम्पसका सम्पूर्ण गतिविधिको सुक्ष्म मुल्यांकन गर्न लाग्ने बताउनु भयो । यस क्रममा क्याम्पसको शैक्षिक, आर्थिक, भौतिक, सामाजिक र सांस्कृतिक पक्षको मुल्यांकन गरेर विश्व विद्यालय अनुदान आयोगको टोलीलाई पठाउने बताउनुभयो । त्यसपछि त्यही प्रतिवेदनको आधारमा क्याम्पसले क्यूएए प्राप्त गर्ने या नगर्ने टुङ्गो लाग्ने पनि उहाँले बताउनु भयो । गत भदौको पहिलो भ्रमणपछि क्याम्पसले धेरै कुरामा स्तरउन्नती गरेकाले क्यूएएका अधिकांश मापदण्डहरु पूरा गर्न क्याम्पस अग्रसर रहेको पाएको बताउनुभयो ।  साथै उहाँले क्याम्पसलाई अब विश्व विद्यालयको रुपमा विकास गर्ने योजनामा लाग्न पनि सबैलाई सुझाउनु भएको छ । क्यूएए आएपछि क्याम्पससंग थुप्रै अवसर रहने भएकाले सबैलाई सहयोग गर्न अनुरोध गर्नुभयो ।
क्याम्पस संचालक समितिका अध्यक्ष झविलाल पोख्रेलले क्याम्पसका बाँकी काम अनुदान आयोगको टोलीले भने बमोजिम पुरा गरेर छिट्टै क्याम्पस क्यूएए मान्यता प्राप्त हुने बताउनु भयो । यसको लागि संचालक समितिको सिंगो टिम नै एकवद्ध भएको बताउनु भयो । क्याम्पस प्रमुख खेमराज शर्माले स्वागत मन्तव्य राख्दै स्थापना कालदेखि अहिलेसम्मको अवस्थाको बारेमा जानकारी दिनुभएको थियो ।
क्याम्पसका अध्यक्ष पोख्रेलको अध्यक्षता, क्याम्पस प्रमुख शर्माको स्वागत मन्तव्यमा सम्पन्न कार्यक्रमको संचालन प्राध्यापक गोविन्द खनालले गर्नुभएको थियो । क्यूएए प्रकृयामा क्याम्पसको संयोजक रहनु भएका गोविन्द खनालले क्याम्पसको समग्र वस्तुस्थितिलाई समेटेर छोटो प्रस्तुति दिनु भएको थियो । कार्यक्रम पछि टोलीले सोमबार नै संचालक समितिसंग छलफल गरेको छ । अब ११ गतेसम्म अरोरात्र टोलीले क्याम्पसको मुल्यांकन गरेर प्रतिवेदन बनाउने क्याम्पस प्रमुख शर्माले बताउनु भयो ।

प्रकाशित मिति : ७ पुस २०७६ सोमबार ००:००  ७ : २० बजे