काठमाडौं ।
पत्रकार जमाल खशोग्गीको हत्या गरेको आरोपमा साउदी अरबको एक अदालतले पाँच जनालाई मृत्युदण्डको सजाय दिएको छ भने तीन जनालाई जेल सजाय सुनाएको छ ।
साउदी सरकारको कटु आलोचक रहेका खशोग्गीको गत वर्ष इस्तानबुलमा रहेको साउदी कन्सुलेटको कार्यालयमा साउदी एजेन्टहरुको एक टोलीले हत्या गरेको थियो ।
यस मामिलामा साउदी राजकुमार मोहमद बिन सलमानको हात रहेको विभिन्न रिपोर्टहरु समेत बाहिर आएको थियो । राजकुमारले यसलाई खण्डन गरे पनि गत अक्टोबरमा साउदी अरेबियाको नेताको हैसियतले साउदी सरकारका लागि काम गर्ने व्यक्तिहरुले घटना घटाएको भन्दै घटनाको सम्पूर्ण जिम्मेवारी लिने बताएका थिए ।
अन्तर्रा्ष्ट्रिय दबाबपछि साउदीको सरकारी वकिलले नाम नखुलाएका ११ जनामाथि मुद्दा चलाएको थियो । साउदी सरकारले यस घटनामाथि अनुसन्धान सुरु गरेपछि १८ जनालाई पक्राउ गरिएको थियो भने पाँच जना शीर्ष सरकारी अधिकारीहरुलाई बर्खास्त गरिएको थियो ।
यसमा गुप्तचर विभागका उपप्रमुख अहमद असिरी र राजकुमार सलमानसँग निकट मानिने साउद अल कतानी रहेका थिए । कतानीमाथि अनुसन्धान गरिए पनि उनीविरुद्ध पर्याप्त प्रमाण नभेटिएको भन्दै छाडिएको थियो भने खसिरीलाई पनि पछि प्रमाण नभेटिएको भन्दै सफाइ दिइएको थियो ।
गत जनवरीमा ११ जनालाई रियादको क्रिमिनल कोर्टमा सुनुवाइका लागि पेश गरिएको थियो जसमध्ये पाँच जनालाई मृत्युदण्डको सजाय माग गरिएको थियो । उनीहरुको पहिचान खुलाइएको छैन । ५९ वर्षीय पत्रकार खशोग्गी सन् २०१८ को अक्टोबर २ मा साउदी कन्सुलेट पुगेका थिए । त्यहाँ उनको हत्या भएको थियो ।
७ पुस २०७६ सोमबार ००:००
0
Shares
प्रतिक्रिया