मायादेवी अनलाइन, समाचार डेस्क ।
पुस ५ गते शनिबार साँझपख कपिलवस्तुमा एउटा खबर बाहिरियो । जिल्लाको विजयनगर गाउँपालिकामा एक महिला ट्याक्टर मै सुत्केरी भएको सम्बन्धि । घटना यथार्थ नै थियो । पुसको यो चिसोमा सुत्केरी व्यथाले च्यापिएकी ती महिलालाई ट्याक्टरको सहायताले अस्पताल ल्याईदै थियो । बाटो मै उनी सुत्केरी भइन । महिलाको सबैभन्दा बढी पीडाको क्षण सुत्केरी अवस्थामै हुन्छ । यो बेला आमनागरिकले पनि महिलालाई सहानुभूती देखाउने गरेका छन । यी महिलालाई पनि यसैगरी सबैले सहानुभूती देखाए ।
कतिपयले यो घटनालाई राजनीति आखाँले समेत हेर्न भ्याए । विजयनगरको यो घटनालाई गाउँपालिकाको विकास निर्माणसंग जोडेर कतिपयले नकरात्मक टीप्पणी समेत गरे । धेरैजसोले गाउँमै एम्बुलेन्स भएको भए ट्याक्टरमै सुत्केरी हुने अवस्था आउने थिएन भनेर सुझाव दिए । तर यथार्थ विजयनगर गाउँपालिका वडा नं. ५ कटुवाका कोरी परिवारले उर्मिलालाई सुत्केरी व्यथाले च्याप्न थालेपछि उर्मिलाको ज्यान बचाउन तत्काल ट्याक्टर भेटे, दौडाएर अस्पताल पुर्याए । यो बेला गर्ने नै यही हो । जसले जसरी व्याख्या गरेपनि उर्मिला र उनको बच्चाकोे अवस्था राम्रो छ र खुसीको कुरा यहि नै हो ।
तर, उर्मिलासंग जोडिएको यो घटना संयोग मात्र हो कि साच्चिकै दुर्गमताको पीडा हो ? गाउँपालिका अध्यक्ष गोपाल थापाले घटना संयोग मात्र भएको बताउनुहुन्छ । मायादेवी अनलाइनसंग कुराकानी गर्दै गाउँपालिका अध्यक्ष थापाले सामाजिक परम्परा, परिवारको चेतना, अविश्वासको कारण कतिपय घटना घट्ने गरेको प्रसंङ्ग निकाल्दै पुस ५ गतेको घटनापनि यही सेरोफेरोमा देखिएको बताउनुभयो । गाउँपालिकामा आफु निर्वाचित भएर आएपछि दुई÷दुई ओटा वर्थिङ सेन्टर चलाउँदै आएको थापाले प्रष्ट पार्नुभयो । २४ औं घण्टा सेवा दिनेगरी गाउँपालिकामा दुई÷दुई ओटा वर्थिङ सेन्टर चलेको भन्दै बाहिरी हल्ला जस्तो नभएको अध्यक्ष थापाले प्रष्ट पार्नुभयो । उर्मिलाले गाउँपालिका भित्रकै वर्थिङ सेन्टरबाट नियमित स्वास्थ्य जाँच गराउँदै आएको पनि खुलेको छ । उनले गाउँपालिकाबाटै आइरन चक्की, नियमित स्वास्थ्य जाँच गराउँदै आएकी थिइन । उनी आफ्नो घरको दुई किलोमिटर नजिकै रहेको वर्थिङ सेन्टरमा नगई उनी ९÷१० किलोमिटर टाढाको वर्थिङ सेन्टरमा जादा उक्त घटना घटेको पाइएको छ ।
अध्यक्ष थापासंग कुराकानी जस्ताको त्यस्तै-
उर्मिलाको घरभन्दा दुई किलोमिटर टाढामात्र वर्थिङ सेन्टर थियो । तर, उहाँका परिवारले ९÷१० किलोमिटर टाढा रहेको वर्थिङ सेन्टरमा लैजानु भएछ । शिवपुरमा रहेको उक्त वर्थिङ सेन्टर पुरानो भएकोले पनि होला उहाँहरु त्यता गएको । नजिकै रहेको वर्र्थिङ सेन्टरले २४ सै घण्टा सेवासुविधा दिदै आएको छ । अहिलेसम्म यहाँबाट दर्जनौं महिला सुत्केरी हुनुभएको छ । उर्मिलाका परिवार किन यहाँ आउनु भएन मलाई थाहा छैन । सामाजिक चेतना, परिवारको विश्वास र परम्पराले कतिपय घटना घट्दो रहेछ । मैले यो घटनालाई त्यसैको रुपमा हेरेको छु । गाउँपालिकामा स्वास्थ्यको स्थिती सुधार गर्न थुप्रै प्रयास भएका छन । अबको एक महिना पछि अर्को वर्थिङ सेन्टर शुभारम्भ हुँदै छ । यही बर्षको अन्तिम तिर फेरी अर्को बर्थिङ सेन्टर निर्माण हुन्छ । यो संगै गाउँपालिकामा चार ओटा वर्थिङ सेन्टर हुनेछन । गाउँपालिका नबन्दै गाउँपालिकाको स्थिती ज्यादै नाजुक थियो । बाटाहरु कच्चि थिए । अहिले अधिकांश ठूला बाटा पक्की बनिसकेका छन । यसले यातायातलाई सिंगो गाउँपालिकासंग जोड्न सफल भएको छ । स्वास्थ्यको स्थिती सुधार गरिरहदा यायायातको पहुँच पनि उत्तिकै महत्वपूर्ण हुने रै छ ।
गाउँपालिकाले गत बर्ष नै एम्बुलेन्स खरिद गर्ने योजना बनाएको थियो । प्राविधिक कारणले रोकिन पुगेको हो । सरकारी काम गर्दा यस्ता समस्या आउँछन नै । तत्काल भनेको बेला चाहेर पनि कतिपय कुरा सकिने रैन छ । यो बर्ष एम्बुलेन्स खरिद गछौं । गाउँपालिकामा हामीले घरघरमा पुगेर ८० बर्ष माथिका बृद्धबृद्धाको मासिक रुपमा स्वास्थ्य जाच गर्ने व्यवस्था मिलाएका छौं । गाउँघर क्लिन सञ्चालन भैरहेका छन । साप्ताहिक रुपमा क्लीन पनि सञ्चालन भैरहका छन । गाउँपालिका भित्रका तीन वडा स्वास्थ्य चौकी विहिन थिए । अहिले यी तीन वटै वडामा स्वास्थ्य चौकी बनिरहेका छन । गर्भवती महिलालाई नियमित स्वास्थ्य जाँच, आइरन चक्की लगायतका औषधि पनि निशुल्क वितरण गरिरहेका छौं । गाउँपालिकाबासीको सिंगो स्वास्थ्य समस्या प्रति हामी अत्यन्तै होशियार छौं ।
प्रतिक्रिया