८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

युभेन्टसलाई स्तब्ध पार्दै लाजिओले जित्यो सुपर कपको उपाधि



एजेन्सी । युभेन्टसलाई पराजित गरेर लाजिओले इटालियन सुपर कप फुटबलको उपाधि जितेको छ । साउदी अरेबियाको रियादमा आइतबार राति भएको खेलमा लाजिओले युभेन्टसलाई ३–१ ले पराजित गरेको हो ।

क्रिष्टियानो रोनाल्डो, पाउलो डिबालासहितको युभेन्टसलाई लाजिओले निराश पारेर उपाधि जितेको हो । लाजिओका लागि १६ औँ मिनेटमा लुइस अल्बर्तोले गोल गर्दै सुरुवाति अग्रता दिलाए ।

४५ औँ मिनेटमा पाउलो डिबालाले युभेन्टसका लागि बराबरी गोल फर्काए । ७३ औँ मिनेटमा सेनाड लुलिकले गोल गरेपछि पुनः लाजिओले अग्रता लियो ।

इन्जुरी समयको तेस्रो मिनेटमा युभेन्टसका रोड्रिगो बेन्ताकुरले रातो कार्ड पाए । इन्जुरी समयको चौथो मिनेटमा डानिलो काताल्दीले लाजिओका लागि गोल गरे र टिमलाई ३–१ को जित दिलाए ।

लगातार आठौँ सिजन सुपर कपको फाइनलमा पुगेको युभेन्टसले चार पटक उपाधि जितेको छ । चार पटक त फाइनलमा लाजिओसँगै खेलेको छ युभेन्टसले । यो खेलमा रोनाल्डोले गोल गरेको भए उनको २०१९ मा ४० गोल हुने थियो तर उनी गोलविहिन भएपछि २०१९ को विदाई सुखद हुन सकेन ।

प्रकाशित मिति : ७ पुस २०७६ सोमबार ००:००  ७ : २१ बजे