८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

पीपीएलः चितवन संग विराटनगर १८ रनले पराजित



पोखरा ।
जारी दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) मा चितवन राइनोजले लगातार चौँथो जित निकालेको छ । आइतबार बिहान भएको खेलमा चितवनले विराटनगरलाई १८ रनले पराजित गर्दै अपराजित यात्रा कायम राखेको छ।
टस हारेर पहिले ब्याटिङ गरेको चितवनले विराटनगरलाई १४७ रनको विजय लक्ष्य प्रस्तुत गरेको थियो। उसले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १४६ रन जोडेको थियो। १४७ रनको लक्ष्य पछ्याउने क्रममा विराटनगर १९ ओभरमा सबै विकेट गुमाउँदै १२८ रनमै समेटियो।
विराटनगरका लागि लोकेश बमले विस्फोटक ब्याटिङ गर्दै अर्धशतक बनाए पनि जितका लागि पर्याप्त भएन। आठौँ क्रममा आएका उनले ३६ बलको सामना गर्दै सर्वाधिक ६२ रन बनाए । उनले ५ छक्का र ५ चौका हिर्काएका थिए। त्यस्तै पुनित मेह्राले २४ र नोमान खानले १८ रन बनाउन बाहेक अन्य ब्याट्स्म्यानले दोहोरो अंकाको रन जोड्न सकेन्।
चितवनलाई जित दिलाउन भुवन कार्कीले ३ विकेट लिए। म्यान अफ दी म्याच घोषित भएका उनले ४ ओभर बलिङ गर्दा १४ रनमात्र खर्चिए। त्यस्तै करण केसीले ३ र रोहन मुस्तफाले २ विकेट लिए भने सन्नी पटेलको नाममा १ विकेट रह्यो।
यसअघि ब्याटिङ गरेको चितवनका लागि आरिफ शेखले नटआउट ३९ रनको योगदान गरे। कप्तान पारस खड्काले ३५ र सन्नी पटेलले २७ रन जाडे। सन्नीले विस्फोटक ब्याटिङ गर्दै ८ बलको सामना गर्दा ३ छक्का र ३ चौकासहित २७ रन बनाए । त्यस्तै बाबर हायातले २५ रनको योगदान गरे।
विराटनगरका लागि जितेन्द्र मुखिया र किशोर महतोले १-१ विकेट लिए। त्यस्तै पुनित मेह्रा र महम्मद जैद आलमको नाममा पनि समान १-१ विकेट रह्यो।
पारस खड्काको कप्तानीमा रहेको चितवनले लगातार चौँथो खेलमा जित निकाल्दै ८ अंक जोडेको छ। त्यस्तै चार खेल खेले खेलेको काठमाडौँ गोल्डेन वारियर्सको ४, विराटनगर र पोखरा पल्टनको समान २ अंक रहेको छ। एक खेल कम खेलेका बुटवल ब्लास्टर्सको ४ र धनगढी ब्लुजको २ अंक रहेको छ।

प्रकाशित मिति : ६ पुस २०७६ आइतबार ००:००  १ : २९ बजे