८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

बुटवल भयो मानवमुक्त सडक शहर



बुटवल ।

प्रदेश ५ को अस्थाई राजधानी बुटवल सहयोगापेक्षी बेसहारा सडक मगन्ते मानवमुक्त उप–महानगर घोषणा भएको छ । शनिबार प्रदेश पाँचका आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसी, सामाजिक विकासमन्त्री सुदर्शन बराल, पर्यटनमन्त्री लिला गिरी, नगरप्रमुख शिवराज सुवेदी, उपप्रमुख गुमादेवी आचार्य र मानवसेवा आश्रमका प्रतिनिधिहरू संयुक्त रूपमा यस्तो घोषणा गरेका हुन् । उनीहरूले मानव सभ्यतासहितको मानवअधिकारमैत्री नगर निर्माण गर्ने संकल्प गरे ।

कार्यक्रममा मन्त्री कुलप्रसाद केसीले जनप्रतिनिधिको जागरुपले यो अभियान सफल भएको भन्दै यस्लाई टिकाइराख्न आग्रह गरे । उनले भने, ‘यो प्रदेश सरकारको ‘समृद्ध प्रदेश खुसी जनता’ अभियानको एक अंश हो । यसलाई जोगाइराख्न जरुरी छ । प्रदेश सरकारले अभियानलाई साथ दिन्छ ।’ ‘गर्न चाहे सहिन्छ भन्ने यो अभियानले दिएको छ । स्थानीय तहका यस्ता अभियानमा प्रदेश सरकार नजिक छ । जस्तो सुकै सहयोग गर्न तयार छ’ उनले भने । उनले बुटवल सुरक्षित सहर बन्दै गएको बताए । ‘कुनैबेला डन र गुण्डाको शहर बुटवल सडक मानवमुक्त हुनु खुशीको कुरा हो’ मन्त्री केसीले भने ।

त्यस्तै उद्योग पर्यटन वन तथा वातावरणमन्त्री लिला गिरीले संघ संस्थाहरूको हातेमालोबाटै यस्ता अभियान पूरा गर्न सकिने बताए । यो अभियान सफल बनाएको उपमहानगरपालिका बधाईको पात्र रहेको बताए ।  सामाजिक विकासमन्त्री सुदर्शन बरालले छिट्टै प्रदेशलाई नै सडक मानवमुक्त बनाइने बताए । त्यसका लाािग स्थानीय तहहरुको अग्रसरता आवश्यक रहेको बताए । प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठ, फकरुद्धिन खान, जिल्ला समन्वय समितिका संयोजक एकराज विश्वकर्मा, सहायक प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्मालगायतले गौतमबुद्धको भूमि मानवताको शहरको रूपमा विकसित हुँदै गएको बताए ।

उपमहानगरपालिकालाई सहयोगापेक्षी बेसहारा सडक मानवमुक्त घोषणा गर्दै उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले अबका दिनमा बुटवलको सडकमा कुनै पनि व्यक्तिले जीवनयापन गर्नु नपर्ने प्रतिबद्धता जनाए । उनले मानवसेवा आश्रमको क्षमता तथा गुणस्तर वृद्धि गरी सेवालाई दीर्घकालीन बनाउन नगरपालिकाले सहयोग गर्ने बताए । हरेक नागरिकको सम्मानपूर्वक बाँच्न पाउने अधिकारलाई मौलिक अधिकारको रूपमा कार्यान्वयन गर्ने चरणमा मानव सेवा आश्रमसँग सहकार्य गरी सडकमा बेसहारारूपमा जीवन बिताउनुपर्ने बाध्यतामा रहेका मानवलाई उद्वार, उपचार र आवासको व्यवस्था मिलाउने काम सम्पन्न गरी बुटवल उपमहानगरलाई सडक मानवमुक्त बनाइएको उपप्रमुख गुमादेवी आचार्यले बताए ।

नगरलाई बेसहारा सडक मानवमुक्त बनाउन बुटवल उपमहानगरपालिकाले यसअघि सरकारी निकाय, सामाजिक संघसंस्था, नागरिक समाज, सञ्चारकर्मी, टोल विकास संस्था, विभिन्न समूह, सामुदायिक संघसंस्था क्लब समाजसेवी, बुद्धिजीवी, उद्योग व्यवसायी, स्वास्थ्य संस्था, शैक्षिक संस्थासँग समन्यवन र सहकार्य गरेको थियो । शारीरिक तथा मानसिक रूपमा असक्त मनोरोगी, अनाथ, अपांगता भएका व्यक्ति र सहयोगापेक्षी मानवको उद्वार, उपचार र पालन–पोषण गर्ने उद्देश्यले सामाजिक विकास मन्त्रालय र उपमहानगरपालिकाको सहयोगमा बुटवलमा मानव सेवा आश्रमको स्थापना गरिएको हो ।

सहयोगापेक्षी सडक मानव व्यवस्थापन एवं मानवता प्रवर्द्धनका लागि बुटवल उपमहानगरपालिका र मानव सेवा आश्रमबीचको सहकार्यमा गत वर्ष पुस ७ गतेदेखि एक वर्षको अवधिमा १९७ जनाको उद्धार गरिएको आश्रमका सञ्चालक रामजी अधिकारीले जानकारी दिए ।

प्रकाशित मिति : ५ पुस २०७६ शनिबार ००:००  ७ : ५६ बजे