८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

महाराजगञ्जमा छात्रालाई बाडियो १ सय ४ साइकल



नरसिंह कोहार, महाराजगञ्ज ।
कपिलवस्तुको महाराजगंज नगरपालिकाका प्रमुख अब्दुल कलाम खाँले बालिका शिक्षाको लागि समुदायमा सचेतना आवश्यक भएको बताएका छन् । अभिभावकलाई शिक्षाको महत्व बुझाएर बालिकाहरुको शिक्षामा निरन्तरता दिनुपर्ने प्रमुख आवश्यकता भएको बताए ।
महाराजगंज नगरपालिका ८ कजरहवामा आयोजित बालिकाहरुलाई साइकल वितरण कार्यक्रममा नगर प्रमुख खाँले सो कुरा बताएका हुन् । उनले बालबालिकाको शिक्षा पाउने अधिकारलाई संघ संस्थाले सचेतना अभिवृद्धि गरेर शिक्षा क्षेत्रमा उल्लेखनीय काम गरेको बताए ।
सिद्धार्थ सामाजिक विकास केन्द्र र केएर नेपालको साझेदारीमा संचालित उडान कार्यक्रम अन्तरगत १ सय ४ बालिकाहरुलाई साइकल वितरण गरेर नगरपालिकाले गर्न नसकेको काममा धेरै मद्धत गरेको बताएका छन् । उनले संस्थाले स्कुल नगएका वालिकाहरुका लागि उत्प्रेरणा जगाएर शिक्षाको ज्योति दिने काम गरेको प्रति प्रशंसा गर्दै नगरपालिकासंग शिक्षाको क्षेत्रमा संस्थाले सहकार्य गरेको बताए ।
उनले आफनो नगरभित्र शिक्षाबाट कोही पनि बालबालिका बञ्चित हुन नदिन अभिभावक, समुदाय तथा सवै निकाय हातेमालो गरेर जानुपर्ने बताए । उडान कार्यक्रम अन्तरगत गतवर्ष महाराजगंज र कृष्णनगर नगरपालिकामा संचालित उडान सिकाई केन्द्रमा अध्ययनरत १ सय ४ बालिकालाई एक समारोहबीच साइकल वितरण गरिएको हो ।
कार्यक्रममा महाराजगंज नगरपालिका वडा न. ८ का वडा अध्यक्ष योगेन्द्र केसी, कृष्णनगर नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष देवानन्द शुक्लाले बालिकाहरुको शिक्षाको लागि संस्थाले महत्वपूर्ण काम गरेको बताएका छन् ।
आर्थिक तथा अन्य घरायसी कारणले स्कुल नगएका बालिकाहरुलाई उडान केन्द्रमार्फत शिक्षा दिएर पुन विद्यालयमा निरन्तरता भई उनीहरुको भविष्य उज्जवल बनाउन सहयोग पुगेको बताएका थिए ।
सिद्धार्थ सामाजिक विकास केन्द्रकी कार्यक्रम समन्वय प्रमुख इन्दिरा भट्टराईले बालबालिकाको शिक्षा पाउनु नैसर्गिक अधिकार भएकाले शिक्षाबाट बञ्चित नहोउन् भन्ने उद्देश्यले उडान कार्यक्रम संचालन गरेको बताइन् ।
कार्यक्रम संयोजक नारायण घिमिरेले धेरै बालिकाहरु विचैमा स्कुल छाड्ने र उमेरका कारण स्कुल नै नगएका बालिकालाई विद्यालय आवात जावतमा सहज पु¥याउन साइकल वितरण गरेको बताए । उडान कार्यक्रम मार्फत अभिभावकलाई सचेतीकरण, आयआर्जन, सिकाई केन्द्र संचालन तथा बालबालिकाहरुलाई विभिन्न सहयोग गरिरहेको बताइएको छ ।

प्रकाशित मिति : ५ पुस २०७६ शनिबार ००:००  ७ : ३४ बजे